कञ्चनपुर। सेती प्रादेशिक अस्पतालले भर्ना नलिएका कैलालीका ६ जना कोरोना भाइरस संक्रमितलाई कञ्चनपुरको महाकाली अस्पताल ल्याइने भएको छ।
कैलालीको गौरीगंगा नगरपालिकामा मंगलबार संक्रमण देखिएका ७ जना संक्रमितमध्ये एक जनालाई सेती प्रादेशिक अस्पताल र ६ जनालाई महाकाली अस्पताल लैजाने तयारी भएकोे गौरीगंगा नगरपालिकाकी उप–प्रमुख अञ्चला चौधरीले जानकारी दिनु भयो।
वहाँले भन्नु भयो कोरोना संक्रमणको लक्षण देखिएकालाई अस्पतालले भर्ना नगरे पछि व्यवस्थापनमा समस्या आएको थियो, अहिले ६ जना संक्रमितलाई महेन्द्रनगर पठाउने र एक जनालाई सेतीमा राख्ने तयारी भइरहेको छ।
सेती अस्पतालमा आईसोलेसन कक्ष भरिएको र अस्पतालसँग समन्वयनै नगरी बिरामी ल्याइएकोले समस्या परेको अस्पताल स्रोतले बताएको छ।
मंगलबार राति एम्बुलेन्समा सेती प्रादेशिक अस्पताल पुर्याइएका गौरीगंगा नगरपालिका–२ मालिका माध्यमिक विद्यालय र वडा नम्बर ४ को कालिका माध्यमिक विद्यालयको क्वारेन्टाइनमा भेटिएका ७ संक्रमितलाई भर्ना नै नगरी फर्काइएको थियो। अहिले ती ७ संक्रमितलाई गौरीगंगा नगरपालिका–४ स्थित निर्माणाधीन प्रसूति सेवा गृहको भवनमा राखिएको छ।



