
काठमाडौं : बिहीबारको मन्त्रिपरिषद् बैठक भर्खरै सकिएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमण र यसको प्रभावका विभिन्न पक्षमा छलफल भएको छ।
एक मन्त्रीका अनुसार लामो समयदेखि भइरहेको लकडाउनको मोडालिटी परिवर्तनको विषयमा छलफल भए पनि ठोस निर्णय हुन सकेन्। ‘प्रधानमन्त्रीले केही दिन अहिलेकै अवस्थालाई निरन्तरता दिनुपर्छ भन्नुभयो’, मन्त्रीले भने, ‘मोडालिटीका विषयमा भने विभिन्न कोणबाट छलफल भएको छ।’ बैठकमा मन्त्रीहरुले लकडाउन खुकुलो पार्नुपर्ने कुरा राखेपछि प्रधानमन्त्रीले अबको एक दुई दिनमा यस विषयमा निर्णय गर्नुपर्ने धारणा राखे।
प्रधानमन्त्री ओलीले कोरोना संक्रमण र मृत्युको दर बढ्दै गएको र अर्थतन्त्रको अवस्था पनि बिग्रदै गएको भन्दै सबै विषयलाई ध्यानमा राखेर मोडालिटीको विषयमा अध्ययन गरेर प्रस्ताव ल्याउन सुझाव दिएका हुन् । त्यसैगरी सरकारले रोल्पा बम विस्फोटमा ज्यान गुमाएका बालबालिकाको परिवारलाई पाँच लाख क्षतिपूर्ति दिने निर्णय गरेको छ । बैठकले वैशाख १८ गते साँझ बम विस्फोट हुँदा ज्यान गुमाएका रोल्पाको त्रिवेणी गाउँपालिका–७ गौरीगाउँका चार बालबालिकाका परिवारलाई जनही पाँच लाख क्षतिपूर्ति दिने निर्णय गरेको हो ।
विस्फोटमा १४ वर्षीय नोकिराम डाँगी र गौरव नेपाली, ११ वर्षीया विमला खत्री र ५ वर्षीय विजय खत्रीको मृत्यु भएको थियो । गाउँनजिकैको जंगलमा ग्वाला गएका उनीको विस्फोटमा परेर मृत्यु भएको थियो । अन्नपूर्ण पोस्ट बाट साभार, फाइल तस्बिर



