
नेपाल नागरिक उड्डयन प्राधिकरणले बिहीबार कोभिड–१९ को अवधिमा पालना गर्नुपर्ने गाईडलाईन (निर्देशिका) जारी गरेको छ। जसमा एयरलाइन्स, एयरपोर्ट, यात्री लगायतले के गर्ने के नगर्ने भन्ने उल्लेख गरिएको छ। प्राधिकरणले जारी गरेको गाईडलाइन अनुसार ४ प्रकारका लक्षण भएका बिरामीले हवाई उडान गर्न पाउने छैन। कोभिड–१९ संग मिल्ने लक्षण भएका विरामीलाई प्रतिबन्ध लगाइएको हो।
ज्वरो, रुघा खोकी, स्वाशप्रस्वाशमा समस्या र स्वाद वा गन्ध थाहा नपाउने जस्ता लक्षण भएका व्यक्तिलाई कोभिड–१९ को अवधिभर यात्रामा प्रतिबन्ध लगाइएको छ।
हवाई उडान गर्ने व्यक्तिले अनिवार्य मेडिकल मास्क प्रयोग गर्नुपर्ने छ। हवाई उडान पहिले हरेक यात्रुको ज्वरो चेक गरिने छ। उडानका बेला सम्बन्धित व्यक्तिको तापक्रम ३८ डिग्री सेल्सियल वा १००.४ डिग्री फरेनहाइट भन्दा कम हुनुपर्ने छ।
७० वर्ष भन्दा बढी उमेरका, गर्भवती र गम्भीर स्वस्थ्य समस्या भएकालाई सकेसम्म हवाई यात्रा नगर्न सुझाव दिइएको छ। हरेक यात्रीले जहाजमा आवश्यक पर्ने व्यक्तिगत समाग्री पेन, स्वानिटाईजिङ टावल आदि आफै बोक्नु पर्ने छ।
गाइडलाइन्समा अरु के के उल्लेख छ ?
एयरपोर्टमा भेटघाट तथा स्वागत सत्कारमा प्रतिबन्ध लगाइएको छ भने जहाजभित्र समाचार पत्र तथा म्यागजिन उपलब्ध हुने छैन। आन्तरिक उडानमा क्याटरिङको (खाना) सुविधा उपलब्ध हुने छैन।
त्यस्तै अन्तराष्ट्रिय उडानमार्फत् यात्रा गर्नेले गन्तव्य विवरण भरेर हेल्थ डेस्कमा बुझाउनु पर्ने छ भने आन्तरिक यात्रीले भने सो विवरण हवाई उडान कम्पनीलाई बुझाउने र हवाई कम्पनीले संकलन गरी हेल्थ डेस्कमा बुझाउनु पर्नेछ। हरेक यात्रुले आफुले प्रयोग गरेको मास्क, पञ्जा, टिस्युपेपर लगायतका सामग्री तोकिएको ठाउँमा मात्रै फाल्नु पर्नेछ।यात्रुले एयरपोर्ट तथा एयरलाइन्सले जारी गरेका नियम उल्लघन गरे कानुनी कारबाही गरिने छ। नेपाल खबर बाट



