पोखरा। गण्डकी प्रदेशमा थप ३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा स्याङ्जाका २२ जना, पर्वतका १३ जना तथा तनहुँ र पूर्वी नवलपरासीका एक–एक जना छन् । संक्रमितहरु सबै पुरुष हुन् ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या एक सय ८८ पुगेको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ । संक्रमितमा स्याङ्जाको गल्याङ नगरपालिकाका १८ जना छन् । उनीहरु १५ देखि ६६ वर्ष उमेर समूहका छन् ।
त्यसैगरी वालिङ नगरपालिकाका २ जना र अर्जुनचौपारी गाउँपालिकाका ३ वर्षीय एक जना बालकमा पनि कोरोना पुष्टि भएको छ । उता पर्वतको कुश्मा नगरपालिकाका ८ जना तथा पैंयु गाउँपालिका र बिहादी गाउँपालिकाका एक–एक जनामा संक्रमण देखिएको छ । त्यस्तै तनहुँको घिरिङ गाउँपालिका र पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिकाका एक–एक जना युवकमा पनि कोरोना देखिएको छ ।



