गौरादह। झापाको गौरादह बजार क्षेत्रमा आवागमन निषेध गरिएको छ । गौरादह १ घर भइ उपचारका लागि काठमाण्डौं गएकी ६७ वर्षीय एक महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएसँगै गौरादहको केहि क्षेत्र नै तोकेर आवत–जावतमा निषेध गरिएको छ ।
काठमाण्डौंको पाटन हस्पिटलमा आज पीसीआर परीक्षण पोजेटिभ आएसँगै समुदायमा कोरोना फैलन सक्ने भन्दै स्थानीयमा त्रास समेत बढेको छ । घाँटीको समस्या देखिएपछि उपचारका लागि विर्तामोडको बी एण्ड सी हष्पिटलमा उपचार सम्भब नभएपछि उपचारका लागि उनी छोरा बुहारीको साथमा काठ्माडौं गएकी थिइन् ।
अस्पतालले कोरोना परीक्षण नगरिकन उपचार नगर्ने बताएपछि गरिएको पीसीआर परीक्षणमा उनमा कोरोना संक्रमण पुष्टि भएको गाउँपालिकाका स्वास्थ्य शाखाका सह–संयोजक गोविन्द श्रेष्ठले सवाल नेपाललाई जानकारी दिनुभयो । उनमा संक्रमण पुष्टि भएसँगै गौरादहको पूर्वमा गोल्छा चोक देखि पश्चिममा गेउरीया खोला, उत्तरमा चैतुचोक देखि दक्षिणमा कार्की चोक सम्मको क्षेत्रलाई तत्कालका लागि आवत–जावतमा निषेध गरिएको छ ।
उनमा संक्रमण पुष्टी भएपछि समुदायमा कोरोना फैलन सक्ने आशंकाले भोली गौरादह १ नवदुर्गा पेट्रोल पम्प छेउ का स्थानियबासी, संक्रमित महिलाका परिवार, आफन्तहरुको पीसीआर परीक्षण गरिने श्रेष्ठले जानकारी दिनुभयो । यस्तै भोलीबाट गौरादह बजारका अत्यावश्यक सेवा बाहेकका सम्पूर्ण पसलहरु बन्द गरिने पनि श्रेष्ठले जानकारी दिनुभयो । उनी विरामी भएको खबर पाएपछि झापाको विभिन्न स्थानबाट आफन्तहरु भेट्न आएको बुझिएको छ ।



