दमक। झापाको दमक नगरपालिकामा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै दमकका कोरोना संक्रमितको संख्या १० पुगेको छ । आइतबार दमकबाट पठाइएका ३२ जनाको स्वावको पिसीआर परीक्षणमा एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
पुष्टि हुनेमा काँकडभिट्टा नाकाहुँदै भारतबाट २५ गते आएर मानसरोबर क्वारेन्टाइनमा बस्दै आएका ४३ वर्षीय पुरुष छन् । श्रोतका अनुसार उनी दमकको वडा नम्बर ८ का हुन् । संक्रमण पुष्टि भएसँगै उनलाइ गोठगाउँ स्थित पूर्वाञ्चल विश्वविद्यालयको कोभिड अस्पतालमा पठाइएको छ ।
दमकबाट पीसीआर परीक्षणका लागि २४ जना पुरुष र ८ जना महिलाको स्वाब संकलनगरी पठाइएको थियो । स्वाव पठाइएकामा दमकको मानसरोबर क्वारेन्टाइनका १६ जना थिए भने महिला क्वारेन्टाइनका ३ जना र अस्पतालका ७ जना थिए ।
त्यस्तै होम क्वारेन्टाइनका ६ जना थिए । रिपोर्ट नेगेटिभ आएका मध्ये क्वारेन्टाइनबाट आज १२ जना घर फर्किएका छन् । दमकका संक्रमित मध्ये ६ जनाले कोरोना जितेर घर फर्किसकेका छन् ।



