दमक/ झापामा शुक्रबार एकै दिन २५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमण पुष्टि हुनेमा सशस्त्र प्रहरी बलका १८ जना छन् भने झापा गाउँपालिकाका ३ जना, बाह्रदशी गाउँपालिकाका ३ जना र बिर्तामोड नगरपालिकाका १ जना छन् । पूर्वी नाका काँकरभिट्टाको सीमा सुरक्षार्थ खटिएका १८ जना सशस्त्र प्रहरीलाई कोरोना सङ्क्रमण पुष्टि भएको हो । साउन ७ गते बुधबार ४८ जना सशस्त्र प्रहरीको स्वाब सङ्कलन गरी विराटनगरस्थित प्रादेशिक प्रयोगशालामा कोरोना परीक्षणका लागि नमुना पठाइएको मेचीनगरका सामाजिक विकास समितिका संयोजक नवीन बरालले बताए ।
पूर्वी नाकाको सुरक्षार्थ खटिएका सशस्त्र प्रहरीमा एकैपटक यति धेरै सङ्ख्यामा कोरोना सङ्क्रमण देखिएपछि समुदायमा कोरोना फैलिएको हुन सक्ने आशङ्का गरिएको छ । नियमित काम गरिरहेका सीमा सुरक्षाकर्मीहरुमा नै कोरोना पुष्टि भएपछि काँकरभिट्टा क्षेत्रमा समुदायमा नै कोरोना फैलिन सक्ने भन्दै स्थानीयहरु चिन्तित भएका छन् ।
तत्कालका लागि काँकरभिट्टा क्षेत्र सिल गरेर कन्ट्याक ट्रेसिङमार्फत सङ्क्रमणको जोखिममा परेकाहरुको खोजी गरी स्वाब सङ्कलन गर्नुपर्ने काँकरभिट्टाका स्थानीयले माग गरेका छन् । यस अघि पनि दुई जना सशस्त्र प्रहरीलाई कोरोना सङ्क्रमण पुष्टि भएको थियो । कोरोना सङ्क्रमण पुष्टि भएकामध्ये एक महिला सशस्त्र प्रहरी हुन् । उनीहरुमध्ये महिलालाई विराटनगर कोसी अस्पताल लगिएको छ भने बाँकीलाई गोठगाउँस्थित कोरोना अस्पताल लगिएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चम्लगाईले जानकारी दिए ।
त्यस्तै, झापा गाउँपालिका–१ का १७, १८ वर्षीय तथा वडा नम्बर ५ का ४३ वर्षीय पुरmषमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । १७ र १८ वर्षीय पुरmषहरु भारतबाट आएका हुन् भने ४३ वर्षीय पुरmष कतारबाट आएका हुन् । त्यस्तै, बाह्रदशी गाउँपालिका–३ का ३ जनामा कोरोना पुष्टि भएको हो । जसमा २७ र २९ वर्षीय पुरmष साउदीबाट आएका हुन् भने १४ वर्षीय पुरmष भारतबाट आएका हुन् ।
त्यसैगरी, बिर्तामोड नगरपालिका–४ का २४ वर्षीय पुरmषमा पनि कोरोना भाइरस सङ्क्रमण भएको पुष्टि भएको छ । उनी गत असार ३० गते भारतबाट काँकडभिट्टा नाका हुँदै आएको र मेची आँखा अस्पतालको क्वारेन्टाइनमा बस्दै आएका थिए । उनको यही साउन ६ गते स्वाब सङ्कलन गरी पीसीआर परीक्षणका लागि पठाइएकोमा आज रिपोर्ट पोजेटिभ आएको हो । योसँगै झापामा कोरोना सङ्क्रमितको सङ्ख्या ३ सय ४५ पुगेको छ । यद्यपि, कोरोना जितेर ३ सय जना घर फर्किसकेका छन् ।



