मोरङ। मोरङको रंगेली नगरपालिकाको केही क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ । समुदायमा कोरोना संक्रमण फैलिएकाले संक्रमित क्षेत्रमा निषेधाज्ञा जारी गरिएको नगर प्रमुख दिलीपकुमार अग्रवालले जानकारी दिनुभयो ।
वहाँका अनुसार निषेधाज्ञा अहिलेलाई ३ दिनको लागि जारी गरिएको छ । निषेधाज्ञा जारी गरिएको क्षेत्र रंगेली बजार पूर्वमा मधुवनी चोक, पश्चिममा चिसाङ खोला, उत्तरमा बक्रा खोलाको पुल र दक्षिणमा भनसार कार्यालय रहेको प्रमुख अग्रवालले जानकारी दिनुभयो । सोमबार रंगेलीको बजार क्षेत्रका १४ सहित २२ जनामा कोरोना संक्रमण पुष्टि भएपछि नगरपालिकाले यस्तो निर्णय गरेको हो ।
निषेधाज्ञा जारी गरिएको क्षेत्रभित्र कुनैपनि सेवा सञ्चालन गर्न पूर्ण रुपमा निषेध गरिएको पनि प्रमुख अग्रवालले जानकारी दिनुभयो । मंगलबार सो क्षेत्रमा कन्ट्रयाक ट्रेसिङका लागि स्वाब संकलन गरिने र सोको रिपोर्टको नतिजाका आधारमा के गर्ने भन्ने तय हुनेपनि प्रमुख अग्रवालले जानकारी दिनुभएको छ । रंगेली नगरपालिकाको बजार क्षेत्रमा ट्राभल हिस्ट्री नभएका १४ जनालाई संक्रमण पुष्टि भएको हो ।
रंगेली नगरपालिबाट पठाइएका एक सय ५६ जनाको स्वाबको पीसीआर परीक्षणमा २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये ५ जना विद्युत प्राधिकरण रंगेली वितरण केन्द्रका कर्मचारी हुन भने ३ जना रंगेली अस्पतालका कर्मचारी हुन् । ट्राभल हिस्ट्री नभएकामा संक्रमण भेटिएसँगै रंगेलीमा समुदायस्तरमा संक्रमण फैलिएको पुष्टि भएको नगरपालिकाका स्वास्थ्य संयोजक भुपेन्द्र मण्डलले जानकारी दिनुभयो ।
रंगेली बजार क्षेत्रमा समुदायस्तरतमा संक्रमण देखिएको उनले बताए । संक्रमित रहेको क्षेत्र वडा नम्बर ७ मा पर्छ । यसअघि नगरपालिकामा १० जनामा संक्रमण देखिएको थियो । ती संक्रमित भारत तथा तेस्रो मुलुकबाट आएका थिए । नगरका स्वास्थ्य संयोजक मण्डलले भने सोमबार संक्रमण पुष्टि भएकाहरुको कुनै ट्राभल हिस्ट्री छैन् ।’ कुनै ट्राभल ‘हिस्ट्री नभएकाले समुदायमा पुगेको देखिन्छ ।’



