दमक। दमकमा समुदायमा कोरोना संक्रमण देखिएसँगै दमक नगरपालिका भित्र भोलि (शनिबार) देखि लागू हुनेगरी यहाँका सबै अस्पताल र क्लिनिकहरुका आकस्मिक बाहेक अन्य सबै सेवा बन्द गर्ने निर्णय भएको छ ।
आज दमक नगरपालिकामा नगर प्रमुख रोमनाथ ओलीको अध्यक्षतामा बसेको दमक स्थित सरकारी अस्पताल तथा निजी अस्पताल संचालकहरुको बैठकले यस्तो निर्णय गरेको हो ।
त्यस्तै बैठकले आकस्मिक सेवा बाहेकका सेवाहरु टेलिफोन तथा अन्य विद्युतीय माध्यमबाट सेवा प्रवाह गर्ने पनि निर्णय गरेको छ । बैठकले दमक नगर क्षेत्रमा आइसोलेसन सेन्टर निर्माण गर्न संम्भाव्यता अध्ययन गरी ३ दिन भित्र प्रतिवेदन पेश गर्न दमक अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. खड्क लिम्बुको संयोजकत्वमा ७ सदस्यीय कार्यदल पनि गठन गरेको छ ।



