दमक। झापाको कमल गाउँपालिकाको वडा नम्बर ३ मा समुदायमा कोरोना फैलिएको पाइएको छ । आज आएको पीसीआर परीक्षणको रिपोर्टमा समुदायको ३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
उनीहरुमध्ये एक जना मोवाइल व्यवसायी हुन भने एक जना स्वास्थ्यकर्मी हुन् । त्यस्तै एक जना महिला यसअघि कोरोना संक्रमति पुरुषको परिवार भित्रकै सदस्य हुन् । संक्रमण पुष्टि भएका पुरुषहरु ४० र ५७ वर्षीय हुन भने महिला २० वर्षीय हुन् ।
कमलबाट १० महिला र २० पुरुषको स्वाब पीसीआर परीक्षणको लागि मेची अञ्चल अस्पताल भद्रपुर पठाइएको थियो । गाउँपालिकाको प्रमुख मेनुका काफ्लेले समुदायमा कोरोना फैलिएकोले सजक रहन सबैमा अनुरोध गर्नु भएको छ । उहाँले समुदायमा कोरोना देखिएकाले सबैले सावधानी अपनाउनु पर्ने पनि बताउनु भयो । संक्रमण पुष्टि भएकी महिला दमकको लाइफलाईन अस्पताल पटकपटक आउजाउ गरेको खुल्न आएको छ ।
योसँगै कमलमा कोरोना संक्रमितको संख्या ८ पुगेको शहीद धर्मभक्त माविको क्वारेन्टाइनमा खटिनु भएका स्वास्थ्यका इन्द्र अर्यालले सवाल नेपाललाई जानकारी दिनुभयो । वहाँका अनुसार कमलका ३ जनाले कोरोना जितिसकेका छन् ।



