काठमाडौं, २३ भदौं । लामो समयदेखि जारी लकडाउनका कारण उपत्यकाको जनजीवन कष्टप्रद बन्दै गएको छ । उपत्यकामा जारी लकडाउन भोलि (बुधबार) सकिंदै गरेका बेला उपत्यका प्रशासनले चौथो पटक निषेधाज्ञा थप्ने वा नथप्ने भन्ने विषयमा छलफल थालिएको छ । मंगलबार दिउँसो साढे २ बजे काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुबीच भर्चुअल संवाद हुँदैछ ।
कोरोना संक्रमण बढेपछि तीन वटै जिल्लाले भदौ ४ गतेदेखि निषेधाज्ञा लगाएका छन् । तेस्रो पटक थपिएको निषेधाज्ञाको समय बुधबार मध्यराति सकिँदैछ । अहिले उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयका प्रमुख, उद्योग वाणिज्य महासङ्घ र महानगरीय ट्राफिक प्रहरी महाशाखाका पदाधिकारीबीच छलफल भइरहेको छ ।
यो छलफलपछि सुरक्षाकर्मीसित छलफल गर्ने र त्यसपछि फेरि प्रमुख जिल्ला अधिकारीबीच छलफल हुने जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिएका छन् ।
उनले उत्यकाका निम्न आय भएका वर्गको अवस्था जटिल बन्दै गएको कुराबारे आफूहरु अवगत रहेको बताउँदै भने, ‘उहाँहरुको लागि जे उपयुक्त हुन्छ त्यहीं निर्णय गर्छौ, निर्णय भोलि आउँछ, आज छलफल र परामर्श हुन्छ ।’
यस्तै उनले स्वास्थ्य विज्ञसँग पनि परामर्श भइरहेकाले स्वास्थ्यसँगै आर्थिक र सामाजिक प्रभावलाई ध्यानमा राखेर निर्णय हुने बताएका छन् । बैठकमा आर्थिक गतिविधि ठप्प भएकाले मोडालिटी परिवर्तन गरेर निषेधाज्ञालाई केही खुकुलो बनाउने बारेमा पनि परामर्श भइरहेको छ ।
कस्तो होला अबको मोडालिटी ?
लगातारको निषेधाज्ञाले नागरिकको जनजीवन कष्टप्रद बन्दै गएको र नागरिकमा आक्रोश पैदा भएकोबारे गृह प्रशासनको पनि ध्यान तानिएको छ । नागरिकमा बढ्दो आक्रोशका कारण सरकारलाई पनि मोडालिटी फेर्नु वाध्यता भइसकेको छ ।
‘स्वास्थ्य मन्त्रालय र प्रहरी प्रशासनको हिसाबले निषेधाज्ञालाई कडाइ गर्नुपर्छ भन्ने राय छ’, गृहका उच्च अधिकारी भन्छन्, ‘तर ज्याला मजदुरी गरेर खानेहरुलाई बाँच्न गाह्रो पनि भएको छ । त्यसैले मुख्यतः आवश्यकता के हो भनेर हेर्नुपर्ने अवस्था आएको छ ।’
स्रोतका अनुसार दुई वटा प्रस्ताव आएका छन् । पहिलो, एक साता निषेधाज्ञा थपेर रोजगारीका क्षेत्रलाई खुला गर्ने । दोस्रो, जोर–विजोर प्रणाली लागू गर्ने गरेर सवारी साधन पनि चल्न दिने ।
यद्यपि जोर–विजोर प्रणाली यसै हप्ता लागू गर्ने वा एक सातापछि भन्ने टुंगो लागिसकेको छैन । ४ भदौबाट जारी निषेधाज्ञाका कारण एक सातापछि संक्रमण दर पनि घट्दै जाने कतिपय प्रशासकको विश्लेषण छ । त्यसैले तत्काललाई उद्योग, कलकारखाना र पसलहरु स्वास्थ्य मापदण्ड पालना गरेर खुला गर्न दिनुपर्ने उनीहरुको धारणा छ ।



