काठमाडौं । डा. गोविन्द केसी र सरकारबीच भएको सहमतिलाई नेपाली कांग्रेसले स्वागत गरेको छ । उक्त ८ बुँदे सहमति इमान्दार ढंगले कार्यान्वयन गर्दै अघि बढ्न पनि कांग्रेसले सरकारलाई आग्रह गरेको छ ।
सहमतिलाई सकारात्मक रूपमा लिएको भन्दै कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले विगतमा सहमति उल्लंघन गरिएको नजीर दृष्टिगत गर्दै खबरदारी जारी राख्न अपिल समेत गर्नुभएको छ ।
प्रवक्ता शर्मा द्धारा जारी विज्ञप्तीमा भनिएको छ, डा. केसीले अघि सार्नुभएका मुद्दाप्रति वर्तमान सरकारको रवैया शुरुआत देखिनै पूर्वाग्रहपूर्ण थियो । जुम्ला अनशनपछि काठमाडौं आइपुग्दा दुव्र्यवहारपूर्ण व्यवहारदेखि वार्ता नै नगर्ने हठसम्म प्रस्तुत गर्ने सरकार चौतर्फी दबाबपछि अन्ततः वार्ता समिति बनाउँदै सहमतिमा पुगेको छ।
वर्तमान प्रधानमन्त्रीको अग्रसरतामा ०७५ साउन १० गते डा. केसीसँग गरिएको सहमति सोही वर्षको माघ महिनामा सरकारले उल्लंघन गरेको कांग्रेसको ठहर छ ।




