म्याद गुज्रिएका खाद्यवस्तुमा नयाँ मिति राखेर बजार पठाउने रोनक बोथ्रासहित दुई जनालाई एक वर्ष कैद सजाय भएको छ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले म्याद गुज्रिएका खाद्य वस्तुमा नयाँ मिति राख्दै गर्दा पक्राउ परेका दुई जनालाई आइतबार कैद सजाय सुनाएको हो।
गत असोज १५ गते कलंकी क्षेत्रको आयान डिस्ट्रिब्युटर्स र विष्णुलक्ष्मी डिस्ट्रिब्युटर्समा प्रहरी र विभागले छापा मारेको थियो।
त्यहाँबाट म्याद सकिएका उपभोग्य वस्तु बजारबाट संकलन गरी नयाँ मिति राखेर पुनः बजारमा पठाउँदै गर्दा दुई जना सञ्चालकलाई पक्राउ गरेको थियो।
आयान डिस्ट्रिब्युटरका सञ्चालक भारत राजस्थानका रोनक बोथ्रा र विष्णुलक्ष्मी डिस्ट्रिब्युटरका सञ्चालक शङ्कर बयलकोटी पक्राउ परेका थिए।
उनीहरूलाई एक वर्ष कैद र तीन/तीन लाख जरिवाना समेत गरिएको विभागका सूचना अधिकारी रवीन्द्र आचार्यले जानकारी दिए।
उनका अनुसार असोज महिनामा वाणिज्य विभागका महानिर्देशक नेन्द्रप्रसाद सुवेदीको इजलासमा पेश भएको मुद्दाको फैसला आइतबार भएको थियो।
भारतीय नागरिक बोथ्राले आफ्नी श्रीमती विष्णु बोथ्रोको नाम पारेर विष्णुलक्ष्मी डिस्ट्रिब्युटर शंकर बयलकोटीका नाममा दर्ता गराएका थिए।
‘आफू आयनमा काम गर्ने र श्रीमतीको नाम पारेर कामदार बयलकोटीको नाममा छुट्टै कम्पनी दर्ता गराएर काम गरेको भेटियो, दुबैलाई कैदसहित जरिवाना गरेर कम्पनी खारेज गरियो,’ उनले भने।
अब दुई वर्षसम्म विष्णुलक्ष्मी डिस्ट्रिब्युटरका नाममा कम्पनी दर्ता नहुँने समेत निर्णय गरेको विभागले जनाएको छ।
उक्त मुद्दामा आयान डिस्ट्रिब्युटरका पुष्पादेवी अग्रवाल, मुन्ना ठाकुर, पप्पुकुमार ठाकुर, श्यामप्रसाद सिंह, रामबहादुर बयलकोटी र विक्रमप्रसाद गुप्ता गरी सात जनालाई प्रतिव्यक्ति तीन लाख १२ हजार जरिवाना गरिएको थियो।
दुई सञ्चालकसहित नौं जनाले तोकिएको जरिवाना रकम जम्मा गरेपछि पुष्पादेवी अग्रवालले जम्मा गरेको एक करोड धरौटी रकम फिर्ता हुने विभागले जनाएको छ।
आयानका सञ्चालकका रूपमा पक्राउ परेकी अग्रवालले एक करोड धरौटी बुझाएर असोज १६ गते छुटेकी थिइन्।
विभागमा अग्रवालले आफ्नो नाममा कम्पनी दर्ता भए तापनि कम्पनीको सबै जिम्मा बोथ्राले निर्वाह गरिरहेको जनाएपछि धरौटीमा छोडिएको थियो।
आयन र विष्णुलक्ष्मी डिस्ट्रिब्युटरको दुई करोड ९४ लाख बराबरको म्याद सकिएका खाद्यवस्तु स्थानीय प्रहरी र जनप्रतिनिधिको रोहवरमा नष्ट हुने विभागले जनाएको छ।



