करिम बेन्जेमाको दुई गोलको मद्दतले रियल म्याड्रिड च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गरेको छ । रियलसँग पराजित भएको बोरुसिया मोचेनग्लाडब्याचले पनि अन्तिम १६ मा स्थान बनाउन सफल भएको छ ।
समूहको अन्य खेलमा इन्टर मिलान र शाख्तार डोनेस्क गोलरहित बराबरी रोकिएपछि दुवै टोलीले नकआउट चरणमा स्थान बनाएका हुन् । अर्को चरणमा पुग्न इन्टर र शाख्तार दुवैलाई जीतको आवश्यक थियो ।
रियल समूहमा तेस्रो स्थानमा रहेको थियो र पहिलोपटक प्रतियोगिताको समूह चरणबाट बाहिरिने खतरामा थियो । तर, पहिलो हाफमा लुकास भाज्क्वेज र रोड्रिगोको क्रसमा बेन्जेमाले हेडमार्फत सुन्दर गोल गर्दै रियललाई महत्त्वपूर्ण जीत दिलाए ।
खेलमा हाबी बनेको रियलविरुद्ध ग्लाडब्याचले मात्र एक पटक आक्रमण गर्न सक्यो । उता, रियलले थप गोल गर्ने अवसर गुमाएको थियो । लुका मोड्रिचको गोल रद्द गरिएको थियो भने बेन्जेमा र भाज्क्वेजको प्रहार पोष्टमा लागेको थियो ।
रियलले च्याम्पियन्स लिगको सबै २५ सिजनमा नकआउट चरणमा प्रवेश गरेको छ । जिनेदिन जिदानको टोलीले पछिल्ला ७ मध्ये चारवटा च्याम्पियन्स लिगको उपाधि जितेको छ ।
तर, गत हप्ता शाख्तरसँग पराजित भएपछि रियल समूह चरणबाट नै बाहिरिने खतरा भएको थियो । यद्यपि, बुधबार ग्लाडबाचविरुद्ध उत्कृष्ट खेल प्रदर्शन गर्दै रियले पुनः एकपटक नकआउट चरणमा प्रवेश गरेको छ।
उता, इन्टर मिलान भने लगातार तेस्रो सिजन च्याम्पियन्स लिगको समुह चरणबाट बाहिरिएको छ ।



