वाईएफसी पथरीलाई एक शुन्यले पाखा लगाउँदै आयोजक चुलाचुली फुट्बल क्लब झापाको दमकमा जारी दुम्सेली नक आउट फुट्बल प्रतियोगिताको सेमिफाईनल प्रबेश गरेको छ ।
विजयी टिमका लागि म्यान अफ दि म्याच मल्दिनो आङ्गथुपोले निर्णायक गोल गरे । उनले पहिलो हाफको ५ औं मिनेटमा पेनाल्टि मार्फत गरेको गोल नै अयोजकलाई सेमिफाईनल पुग्न पर्याप्त भयो ।
खेलको शुरुवातमै एक शुन्यले पछि परेको वाईएफसीले गोल गर्ने थुप्रै अबसर पाएपनि सदुपयोग गर्न नसक्दा प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गरेपनि क्वाटरफाईनलबाटै घर फर्किएको छ ।
जितसँगै आयोजकले अब अन्तिम दुई प्रबेशका लागि फुलबारी स्पोर्टिङ्ग क्लब धरमपुरसँग प्रतिस्पर्धा गर्नेछ । भोली प्रतियोगिताको पहिलो सेमिफाईनलमा विर्तामोड युनाईटेड झापा र बेलबारी फुट्बल क्लब मोरङ्ग आमने–सामने हुने खेल संयोजक अनिस बस्नेतले जानकारी दिनुभयो ।
दमक–३ स्थित चुलाचुली खेल मैदानमा जारी सो प्रतियोगिताको विजेताले नगद २५ हजार र उप–विजेताले नगद १५ हजारसँगै ट्रफी हात पार्ने छन् ।



