लालिगा अन्तर्गत एथ्लेटिको बिल्बाओ विरुद्धको खेलमा बुधबार राति बार्सिलोनाले ३–२ जित दर्ता गर्यो । जितसँगै बार्सिलोना १७ खेलबाट ३१ अंक जोड्दै लिगको तेस्रो स्थानमा उक्लिएको छ ।
बार्सिलोनाको यो जित केबल जितसँग मात्र सम्बन्धित छैन । यो खेलमा टोलीको प्रदर्शन नै उत्कृष्ट थियो र टिमले १–० ले पछि परेको स्थिति उल्ट्याउँदै जित दर्ता गरेको थियो । खेलका नायक थिए कप्तान लियोनल मेसी । उनले टोलीका लागि २ गोल गरे ।
खेल मेसीकै वरिपरि घुमेको थियो, जसरी उनले गोल गरे र पास निकाल्थे, लाग्थ्यो उनी हरेक समस्यालाई चिर्दै आफ्नो पुरानो लय समात्दै छन् ।
खेलको सुरुवाती अग्रता इनाकी विलियम्सको गोलमार्फत् घरेलु टोली बिल्बाओले लिएको थियो । पेड्रीले फ्रेन्की डि जोङको पासलाई सदुपयोग गर्दै बार्सिलोनालाई बराबरीमा ल्याए । पेड्रीलाई पास मिलाउनुअघि डि जोङले मेसीबाट बल पाएका थिए ।
पेड्रीको पासमा मेसीले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । उनी गोल गरेपछि निकै हँसिलो देखिएका थिए । मेसीको यो हाँसो फुटबल प्रेमीहरूका लागि एक सुखद् क्षण थियो किनकि उनी लामो समयपछि यसरी मुस्कुराएका थिए ।
खेलमा दुई गोल गरेका मेसी ला–लिगामा सर्वाधिक गोलकर्ताको सूचीमा लुइस स्वारेज, जोरार्ड मेरेनो र इयागो आसपाससँग संयुक्तरूपमा शीर्ष स्थानमा छन् । उनीहरूको गोल संख्या ९ छ ।
मेसीको यो खुसी केबल गोल गर्न सकेकाले मात्र नहुन सक्छ । यसमा ध्यान दिनुपर्ने कुरा के छ भने उनले पेड्री मैदानमा राम्रो साझेदारका रूपामा तयार भइरहेको महसुस गरेको हुनुपर्छ । पेड्री र डी जोङको साझेदारी पनि परिपक्क बन्दै छ । उनीहरूले हुएस्का विरुद्धको खेलमा पनि उत्कृष्ट साझेदारी गरेका थिए । यसले के संकेत गर्छ भने बार्सिलोनाले बिस्तारै लय समात्दैछ ।
लिगको तेस्रो स्थानमा उक्लिए पनि बार्सिलोनाले धेरै गर्न बाँकी छ । ऊ अझै पनि शीर्ष स्थानको एथ्लेटिको मड्रिडभन्दा ७ अंकले पछाडि छ ।



