आजबाट कोरोना प्रभावित उद्योगीहरुले विद्युत डिमाण्ड शुल्कमा छुट पाउने भएका छन्।कोभिड–१९ का कारण प्रभावित उत्पादनमूलक उद्योगहरुले बन्दाबन्दी अवधिभरको विद्युत डिमाण्ड शुल्क छुट पाउने भएका हुन् ।
आइतबार अर्थमन्त्रालयमा अर्थमन्त्रीसहित बसेको बैठकले डिमाण्ड शुल्क छुट दिने निर्णय गरेको हो । बैठकमा राजश्व सचिव रामशरण पुडासैनी, उद्योग मन्त्रालयका सचिव डा. बैकुण्ठ अर्याल, उर्जा मन्त्रालयका सचिव दिनेशकुमार घिमिरे, अर्थमन्त्रीका आर्थिक सल्लाहकार डा. प्रकाशकुमार श्रेष्ठ,नेपाल विद्युत प्राधिकरणका कामु कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य र उद्योग विभागका महानिर्देशक जीवलाल भुसाल सहभागी भएका थिए ।
अर्थमन्त्रीका आर्थिक सल्लाहकार डा. प्रकाश श्रेष्ठले बजेटमा उल्लेख भएको बुँदा कार्यान्वयनमा गएको बताए। बजेटको बुँदा नम्बर ५३ मा कोभिड–१९ का कारण प्रभावित उत्पादनमुलक उद्योगको लकडाउन अवधिभर विद्युत डिमाण्ड शुल्क छुट दिने र माग कम हुने समयको विद्युत खपतमा ५० प्रतिशत छुट दिने भनिएको थियो । सरकारले आजबाट यहि बुँदा कार्यान्वयनमा ल्याएको डा. श्रेष्ठले रातोपाटीलाई बताए ।
प्राधिकरणका उपभोक्ताले विद्युत शक्ति खपत गरेबापत् मासिक न्युनतम शुल्क, इनर्जी शुल्क र डिमाण्ड शुल्क बुझाउनुपर्ने व्यवस्था छ । यी शुल्कमध्ये डिमाण्ड शुल्क छुट दिने (लकडाउन अवधिभरको) व्यवस्था भएको हो । औद्योगिक व्यवसाय विनियमावली २०७६ मा भएका झण्डै ५८ वटा उद्योग छन् त्यसमा उत्पादनमुलक उद्योगलाई शुल्क छुट हुने श्रेष्ठले जानकारी दिएका छन् ।



