झापाको दमकमा जारी प्रदेश १ स्तरीय अन्तर पालिका पुरुष भलिबल प्रतियोगिताको उपाधि भिडन्त आज हुँदैछ । आज नै सेमिफाइनल र फाइनलका खेल हुनेछन् । अन्तिम क्वाटरफाइनलमा बाह्रदशी गाउँपालिकालाई पराजित गर्दै आमचोक गाउँपालिका भोजपुर प्रतियोगिताको सेमिफाइनल प्रबेश गरेसँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पुरा भएको छ ।
उसले बाह्रदशीमाथी २५–१६ र २५–१२ को सोझो सेटमा जीत हातपार्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो । खेलको म्यान अफ दी म्याच पराजित बाह्रदशीका हरि खड्का घोषित भए ।

यसअघि सम्पन्न अन्य खेलमा जीत हातपार्दै गौरादह नगरपालिका, झापा गाउँपालिका र भद्रपूर नगरपालिकाले सेमिफाइनल यात्रा तय गरेका छन् ।
गौरादहले विर्तामोड नगरपालिकालाई २१–२५, २५–२१ र २५–२३ ले पराजित गर्यो भने झापा गाउँपालिकाले चुलाचुली गाउँपालिका इलामलाई २५–११ र २५–२३ ले तथा भद्रपूर नगरपालिकाले दमक नगरपालिकालाई २५–२३ र २५–२२ ले पाखा लगाउँदै सेमिफाइनल यात्रा तय गरेका हुन् ।

फाईनल प्रबेशका लागि आमचोकले भद्रपूर तथा गौरादहले झापा गापासँग प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगिताको विजेताले नगद ४० हजारसँगै ट्रफी हात पार्नेछ भने उप–विजेताले नगद २५ हजार तथा तेश्रो हुने टिमले नगद १५ हजार प्राप्त गर्नेछन् । प्रतियोगिताको आयोजना दमक नगर भलिबल संघले गरेको हो ।



