मान्छेले प्रेममा परेर के–के गर्न सक्छन् ? पूर्व प्रेमीलाई सताउन ९ महिनासम्म गर्भवती भएको नाटक गर्ने एक महिलालाई स्कटल्यान्डको अदालतले सजाय तोक्ने भएको छ ।
त्यहाँकी जैकलीन मेकगोवन नामक महिलाले पूर्व प्रेमी जेमी इतकेनलाई सताउन गर्भवती भएको नाटक गरेकी थिइन् । यो नाटक प्रेमी जेमीसम्म मात्रै सीमित रहेन, जेमीकी आमा र घरपरिवारसम्म पुग्यो ।
आफू गर्भवती रहेको विश्वास दिलाउन जैकलीनले ‘बेबी बम्प’ (पेट ठूलो देखाउने साधन) प्रयोग गरिन् । उनले अस्पतालमा भर्ना भएको नक्कली पर्चाको फोटो खिचेर समेत जेमीलाई पठाउने गरेकी थिइन् । उनले ठूलो पेट देखाउँदै ९ महिनासम्म जेमीका परिवारलाई जेमीको बच्चा पेटमा रहेको विश्वास दिलाएकी थिइन् ।
डेली रिकर्डस्मा प्रकाशित रिपोर्ट अनुसार ३६ वर्षीया जैकलीन पेटमा रहेको बच्चाबारे कुरा गर्न पटक–पटक जेमीका नातेदारलाई भेट्ने गरेकी थिइन् ।
जैकलीनले बच्चा जन्मिएपछि उनको नाम नोहा राख्ने कुरा समेत गरेकी थिइन् । उनी आफ्नो सुत्केरी हुने मितिबारे समेत जेमीको परिवारलाई बताउने गर्थिन् । उनले जेमीकी आमालाई हजुरआमा बन्न लागेको समेत बताउन भ्याइसकेकी थिइन् ।
जैकलीनले जेमीले आफूलाई ख्याल नगर्ने, गर्भ चेकजाँचका लागि अस्पतालसम्म समेत नजाने लगायत गुनासो जेमीकी आमासँग गरेकी थिइन् । बच्चा जन्मिएपछि हेरचाह र पालनपोषण गर्नुपर्नेबारे समेत जैकलीनले जेमीकी आमासँग कुरा गरेकी थिइन् ।
जतिसुकै कोसिस गर्दा पनि जेमीले जैकलीनलाई वास्ता गरेनन् । जैकलीनले पैसा माग्दा समेत दिएनन् । जैकलीनले जेमीकी आमालाई समेत फेरि गुनासो गरिन् ।
जैकलीनका हर्कतले हैरान भएका जेमीले उनीविरुद्ध अदालतमा मुद्दा हालिन् । सन् २०१९ जुन १ देखि २०२० फेब्रअरी २९ सम्म जैकलीनले यसरी सताउने काम गरेकी थिइन् । तर अदालतमा मुद्दा पुगेपछि जैकलीनको नाटक झूटो सावित भयो । उनले गर्भवती भएको बहानामा जेमीबाट पैसा झार्न चाहेको रहस्य खुल्यो ।
अदालतमा लामो बहसपछि जैकलीन दोषी ठहर भएकी छन् । हालै गरेको आदेश अनुसार अदालतले आगामी महिना जैकलीनलाई सजाय तोक्ने भएको छ ।



