झापाको दुधेमा जारी तेश्रो शिवसताक्षी मेयर कप फुट्बल प्रतियोगिताको आज सम्पन्न खेलमा जित निकाल्दै वडा नम्बर २ फाइनल प्रबेश गरेको छ । उसले वडा नम्बर ७ लाई ४–२ को स्पष्ट अन्तरमा पराजित गर्दै जित निकालेको हो । वडा नम्बर २ को जितमा कप्तान संजिब बुढाथोकी नायक बने । उनले टिमको जितमा ह्याट्रिक पनि गरे ।
बुढाथोकीले पहिलो हाफको ८ औं मिनेटमा पहिलो गोल गरेका थिए भने २१ औं मिनेटमा दोश्रो तथा ५९ औं मिनेटमा तेश्रो गोल गर्दै ह्याट्रिक पुरा गरेका थिए । उता पराजित वडा नम्बर ७ का तर्फबाट ३२ औं मिनेटमा पारस माझी र ६९ औं मिनेटमा मंजिल माझिले गोल गरे । खेलको म्यान अफ दि म्याच वडा नम्बर २ का कप्तान बुढाथोकी भए । उनले नगद १५ सय प्राप्त गरे ।
अब वडा नम्बर २ ले उपाधिका लागि भोलि हुने वडा नम्बर ४ र १० को विजेतासँग बिहीबार प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको विजेताले नगद ७५ हजार र उप–विजेताले नगद ४१ हजार प्राप्त गर्नेछ ।



