पोखरा । नयाँ वर्षमा घुमघामका लागि पुग्नैपर्ने रमणीय ठाउँ हो पोखरा । आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बनेको पोखरा पछिल्लो समय चाडपर्व र कामको थकान मेट्नका लागि जाने नयाँ गन्तव्य नै बनेको छ ।लामो समयसम्म कोभिडको त्रासले रोकिएको घुमघाम गर्ने प्रवृत्ति विस्तारै बढ्न थालेको छ । आन्तरिक तथा बाह्य पर्यटकको आगमनले व्यवसायीमा आशा बढाएको छ । व्यवसायीले छुटसहितका प्याकेज बनाएर आन्तरिक पर्यटकलाई आकर्षित गर्ने गरी विभिन्न अफर ल्याएसँगै पोखरा घुम्न आउने पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ ।केही समय पहिले व्यवसायीले प्याराग्लाइडिङ उडानमा छुटको व्यवस्था गरेसँगै पोखराको आकासमा दैनिक ५ सयभन्दा बढीले प्याराग्लाइडिङ उडान गरेका थिए ।नेपालीहरुको नयाँ वर्षको आगमनसँगै पोखरा घुमघाममा आउनेको सङ्ख्या बढिरहेको छ । केही दिन यता पोखरा र वरिपरिका पर्यटकीय ठाउँमा घुमघामका लागि आएका आन्तरिक पर्यटकको चहलपहल बढ्दो छ ।

पर्यटकीय नगरी पोखरामा नयाँ वर्षसँगै प्राकृतिक सौन्दर्यको मजा लिने मनोरम दृश्य भएका धेरै स्थान छन् । पोखराको बीचमा सुन्दर फेवाताल र उत्तरतर्फका मनमोहक हिमशृङ्खलाका साथै तालबाराही मन्दिर, पातलेछाँगो, गुप्तेश्वर गुफा, महेन्द्र गुफा, चमेरे गुफा, बेगनास ताल, विन्ध्यवासिनी मन्दिर, सेती नदी लगायत दर्जनौँ मनमोहक ठाउँहरुको दृश्यावलोकन गर्न सकिन्छ ।त्यति मात्रै होइन पोखराको उत्तरतर्फको सराङकोट डाँडाबाट प्याराग्लाइडिङ उडाएर फेवा किनारामा अवतरण गराउँदाको मज्जा नै बेग्लै । यस्तै सराङकोटबाटै उत्तरतर्फको माछापुच्छ«े लगायतका हिमशृङ्खलासँग लुकामारी गर्दै हेम्जासम्म ‘जिप फ्लाई’को मजासमेत लिन पाइन्छ । पछिल्लो समय पोखराको याम्दीमा सञ्चालनमा आएको अर्को साहसिक खेल बन्जी जम्प पनि पर्यटकका लागि आकर्षणको केन्द्र हो । शरीरमा फिताले बाँधेर डोरीको सहायताले करिब तीन सय मिटर तल हामफालेर बन्जी गर्न सकिन्छ ।

पोखरामा वार्षिक करिब ३ लाख पर्यटक आउने गरेको तथ्याङ्क छ । नेपाल आउने विदेशी पर्यटकमध्ये करिब ३५ प्रतिशत पोखरा आउने गरेका छन् । पछिल्लो समय यहाँ भित्रिने अधिकांश आन्तरिक तथा बाह्य पर्यटक पदयात्रा, पर्वतारोहण, प्याराग्लाइडिङ, जलयात्रा र साहसिक यात्रा एवं प्राकृतिक दृश्यावलोकनलाई लक्षित गरी आउने गरेका छन् ।विश्वका विभिन्न देशबाट पोखरा आएका पर्यटकमध्ये धेरैको रोजाइमा विश्वकै चर्चित अन्नपूर्ण पदयात्रा पर्ने गरेको छ । अन्नपूर्ण पदयात्राको मुख्य प्रवेशद्वार लमजुङको सदरमुकाम बेँसीसहर, गोरखा र कास्की समेटिएको छ । पर्यटक बेँसीसहर हुँदै पाँच हजार ४ सय १६ मिटर उचाइको अग्लो थोराङ्पास भञ्ज्याङ हुँदै मुक्तिनाथ, जोमसोम पुगेर पोखरा फर्कने गर्छन् । यसको प्रवद्र्धन पर्यटन व्यवसायी, टे«किङ गाइड र टे«किङ व्यवसायीले गर्दै आएका छन् ।त्यस्तै अर्को पदमार्गका रूपमा पोखराबाट वीरेठाँटी, घान्द्रुक, घोरपानी, जोमसोम, मुक्तिनाथ र माथिल्लो मुस्ताङ पार गरी मनाङ हुँदै बेँसीसहरबाट फर्कने गर्छन् ।

गण्डकी प्रदेश सरकारले गत वर्ष एक सय १० वटा विभिन्न पर्यटकीय गन्तव्यलाई समेटेर प्रदेशमा पर्यटन प्रवद्र्धनका कार्य गरिरहेको छ । प्रदेशका ११ जिल्लालाई समेटेर प्रत्येक जिल्लामा १०÷१० वटा पर्यटकीय स्थलको भौतिक पूर्वाधार निर्माणका काम अगाडि बढिरहेको छ ।प्रदेश सरकारले पोखरा र छिमेकी जिल्लाहरूमा सञ्चालन हुँदै आएका प्यराग्लाइडिङ, अल्ट्रालाइट, जिप फ्लायर, ;याफ्टिङ, घोडचढी, बन्जी जम्प, साहसिक पिङ (स्विङ), हर्ट एयर बेलुनिङ र जङ्गल सफारी लगायतलाई साहसिक पर्यटकीय गन्तव्यका रूपमा सूचीकृत गरेको छ ।

फेवाताल र तालबाराही मन्दिर

पोखराको बीचमा रहेको फेवातालको मनोरम दृश्यावलोकन गर्न आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्ने गर्छ । विशेषगरी पर्यटकीय सिजनमा पश्चिमा र युरोपियन पर्यटकहरुको चहलपहल हुनेगर्छ । अन्य समयमा आन्तरिक पर्यटकको बाक्लो उपस्थिति हुने गर्छ । नेपालीमा पछिल्लो समय बढेको चेतना, विलासी जीवनशैली र बढ्दो घुमघाम गर्ने संस्कृतिको विकाससँगै केही वर्षदेखि आन्तरिक पर्यटकको सङ्ख्या निकै बढ्न थालेको छ ।पोखरा आउने अधिकांश पर्यटक फेवातालमा डुङ्गा सयर गर्ने र तालको बीचमा रहेको तालबाराही मन्दिमा दर्शन गर्न जाने गर्दछन् । मन्दिरमा दैनिकरूपमा पूजा गर्ने धार्मिक पर्यटकको समेत घुइँचो लाग्ने गर्छ ।

तालको बीच भागमा रहेका कारण तालबाराही मन्दिरमा जान डुङ्गा चढ्नुपर्ने हुन्छ । डुङ्गा भाडामा लिएर दिनभर बोटिङ गर्ने युवा जोडी प्रशस्तै भेटिन्छन् । फेवातालमा माछापुच्छ«े हिमालको छायाँ देखिन्छ । जुन अत्यन्तै मनमोहक हुने गर्छ । बोटिङ गर्ने पर्यटक फेवातालमा माछापुच्छ«ेको छायाँ देखेर मोहित हुने गर्छन् ।फेवातालको किनारमा रहेको लेकसाइड बजार आफैमा आकर्षक छ । पोखरा पुग्ने अधिकांश पर्यटक लेकसाइडमै बस्न रुचाउँछन् । युरोपकै झल्को दिने रात्रिकालीन जीवनशैलीमा घुलमिल हुन रुचाउनेहरु मन्त्रमुग्ध हुने गर्छन् । पोखराका अधिकांश होटल तथा लज लेकसाइडमै छन् ।

डेभिड फल्स (पाताले छाँगो)

पोखरा आउने अधिकांश आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बनेको डेभिड फल्स सिद्धार्थ राजमार्गकै छेउमा पोखराको छोरेपाटन क्षेत्रमा पर्छ । फेवातालको ड््यामबाट छाडिएको पानी डेभिड फल्सको गल्छीबाट गुप्तेश्वर गुफा हुँदै सेती नदीमा मिसिन पुग्छ । सन् १९६१ मा स्विजरल्यान्डका डेभिड नाम गरेका नागरिक पातले छाँगोमा खसेका थिए । उनको शव तीन दिनपछि सेती नदीको किनारामा पाएपछि उनी खसेको स्थानको नाम डेभिड फल्स रहन गएको हो ।वर्षामा ठूलो पानीको भेल गल्छीभित्र पस्दा देखिने पानीको फोहोरा साँच्चिकै लोभलाग्दो देखिन्छ । पोखराकै मध्य भागमा रहेका कारण यहाँ दैनिक रूपमा सयौँको सङ्ख्यामा पर्यटक पुग्ने गर्छन् । पर्यटकीय सिजनहरुमा यहाँ भीड नै लाग्ने गर्छ ।

गुप्तेश्वर गुफा

सिद्धार्थ राजमार्ग तथा पोखरा उपमहानगरपालिका–१७, छोरेपाटनस्थित गुप्तेश्वर गुफा डेभिड फल्सको खोँचमा छ । यहाँ गुप्तेश्वर महादेवको मूर्ति छ । गुफामा रहेको मन्दिरबाट अझै अगाडि बढे डेभिड फल्सको पानी देख्न सकिन्छ ।डेभिड फल्ससँगै रहेको एक किलोमिटर लामो यस गुफामा आन्तरिक तथा बाह्य पर्यटक रमाउने गर्छन् । महानगरपालिका क्षेत्रभित्र र पोखराकै आकर्षक गन्तव्य भएका कारण गुफामा पर्यटकहरुको आगमन बढ्दो छ ।

सेतो गुम्बा

पोखराको पश्चिमतर्फ फेवाताल र रानीवनसँगै माथिको डाँडामा अवस्थित सेतो गुम्बा (शान्तिस्तुपा) पनि स्वदेशी तथा विदेशी पर्यटकको आकर्षक गन्तव्यका रूपमा विकास हुँदै गएको छ । बौद्ध तथा हिन्दू धर्मावलम्बीका साथै पोखरा पुग्ने सबैजसो पर्यटक यो गुम्बामा पुग्न गर्छन् । पछिल्लो समय यस गुम्बा पोखराकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको छ । बिहानदेखि बेलुकासम्म यस ठाउँमा पर्यटकको घुइँचो लाग्ने गर्छ ।शान्ति स्तुपाबाट पोखराको सुन्दर दृश्य, फेवाताल, हिमाल, बेगनास ताल, रानीवन, सराङकोटको डाँडालगायत देखिने हुँदा यहाँबाट पर्यटकले प्राकृतिक सौन्दर्य अवलोकन गर्न सक्छन् ।

विन्ध्यवासिनी मन्दिर

विन्ध्यवासिनी मन्दिर नेपाल तथा भारतीय हिन्दू धर्मावलम्बीका बीच विभिन्न धार्मिक ग्रन्थ र आस्थासँग जोडिएको मन्दिर हो । त्यसैले पोखरामा हिन्दू धर्मावलम्बीको बाहै्रमास भीडभाड हुने गर्छ । यहाँ दर्शन गर्न भारतीय पर्यटकको समेत भीड लाग्ने गर्छ ।मन्दिर अग्लो स्थानमा रहेका कारण यहाँबाट पोखरा सहर अवलोकन गर्न सकिन्छ । पछिल्लो समय यस मन्दिरमा अपाङ्ग र अशक्त पर्यटकहरुलाई लक्षित गरी लिफ्टको समेत व्यवस्था गरिएको छ ।

सराङकोट

सराङकोट पोखराबाट उत्तर पश्चिममा फक्रिएका हिमशृङ्खलासँग सामीप्यता जोड्दै गरेको अग्लो डाँडा हो । यहाँबाट पोखरा र लेखनाथ सहर देख्न सकिन्छ । साथै आँखै अगाडि माछापुच्छ«े, अन्नपूर्ण, धौलागिरी लगायतका हिमशृङ्खला हेर्न पाइन्छ ।सराङकोटबाट पोखरा आसपासमा रहेको मनमोहक हरियाली वन देखिन्छ । प्याराग्लाइडिङ र जिप फ्लाईसमेत सराङकोटबाटै हुने गर्छ । यहाँ पर्यटकीय सिजनमा दैनिक हजारौँ स्वदेशी तथा विदेशी पर्यटक पुग्ने गर्छन् ।पछिल्लो समय सराङकोट पोखराको मुख्य पर्यटकीय गन्तव्य बनेको छ । यहाँ पर्यटकका लागि सुविधा प्रदान गर्न ठूला रिसोर्ट र होटलहरु समेत सञ्चालित छन् । यहाँको प्रसिद्ध प्याराग्लाइडिङ सराङकोटबाटै उडेर फेवातालको किनारमा ल्यान्ड गरिन्छ । यसको अलावा बिहानीपख सराङकोटमा सूर्योदयको दृश्यावलोकन गर्ने पर्यटकको घुइँचो लाग्ने गर्छ ।

बेगनास र रूपा ताल

लेखनाथ नगरपालिकामा रहेका बेगनास र रूपाताल पनि पोखराको प्रमुख गन्तव्यमा पर्छन् । तालमा डुङ्गा सयर गर्ने व्यवस्था छ । माछाका विभिन्न परिकारका लागि बेगनास निकै चर्चित मानिन्छ । पोखरा पुग्ने अधिकांश पर्यटक बेगनास तालमा पुगेर मन बहकाउने गर्छन् । डाँडावारि बेगनास र डाँडापारि रूपाताल छ ।सहरी कोलाहलबाट अलि टाढा भएकाले यहाँ पुग्दा छुट्टै आनन्दको अनुभूति हुने गर्दछ । पोखराबाट बेगनास तालको रूटमा सार्वजनिक गाडी प्रशस्तै चल्छन् । पोखराबाट तालमा पुग्न १० किलोमिटरको दूरी पार गर्नुपर्छ ।

प्याराग्लाइडिङ

चराजस्तै आकाशमा उड्ने साहसिक खेलका रूपमा प्याराग्लाइडिङ विकास हुँदै गएको छ । पोखरामा करिब ५५ वटा प्याराग्लाइडिङ कम्पनी छन् । प्याराग्लाइडिङमा उडेर मज्जा लिनका लागि ठूलो सङ्ख्यामा स्वदेशी तथा विदेशी पोखरा आउँछन् । पछिल्लो समय प्याराग्लाइडिङ पोखराको मुख्य आकर्षण बनिरहेको छ ।साहसिक खेलका रूपमा रहेको प्याराग्लाइडिङमा उड्दै पोखरा, हिमाल र आसपासको क्षेत्रको दृश्यावलोकन गर्छन् । १ सय ५० जना टेन्डम (व्यावसायिक) प्याराग्लाइडिङ पाइलट यहाँ छन् भने १ सय ९० जना सोलो (सिकारु) पाइलट पनि छन् । सराङकोटबाट उड्ने प्याराग्लाइडिङ फेवातालको किनारामा ल्यान्ड हुन्छ ।

अल्ट्रालाइट फ्लाइट   

पोखराको अर्को आकर्षण हो– अल्ट्रालाइट फ्लाइट । अल्ट्रालाइटमा उडेर पोखरा सहर तथा हिमशृङ्खला हेर्न पाइन्छ । अल्ट्रालाइट पोखरामा मात्रै सञ्चालित छ । एभिया क्लब, फिस्टेल र पोखरा अल्ट्रालाइट लगायतले अनुमति लिएर सञ्चालन गरिरहेका छन् । यसलाई पोखरेलीले पुतली जहाजसमेत भन्ने गर्छन् ।

जिप फ्लाई

सराङकोटबाट हेम्जासम्म जिप फ्लाई गराइन्छ । एक पटकमा दुईजनाले गर्न सकिने जिप फ्लाई युवायुवती र नयाँ जोडीका लागि आकर्षण बनेको छ ।जिप फ्लाई पोखराको महत्त्वपूर्ण पर्यटकीय मनोरञ्जनात्मक खेलका रूपमा स्थापित बनिसकेको छ । साहसिक खेलमा पर्ने जिप फ्लाईका पारखीको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । जिप फ्लाई गर्दा कृषि गाउँको उपनामले परिचित हेम्जाको सुन्दर बस्ती, आसपासको घना जङ्गल र हिमशृङ्खला अवलोकन गर्दै सराङकोटबाट भुपी राजमार्गमा पर्ने हेम्जा झर्ने व्यवस्था छ ।

बन्जी जम्प

पछिल्लो समय पोखरामा व्यावसायिक साहसिक खेलका रूपमा भित्रिएको बन्जी जम्पले व्यावसायिकता ग्रहण गर्न थालेको छ । साहसिक पर्यटनमा रुचि राख्नेहरुका लागि बन्जी जम्प अत्यन्त रोमाञ्चकारी खेल हो । पोखराको हेम्जा र पर्वतीय सङ्ग्रहालयस्थित रातोपैह्रोमा टावरसहितको बन्जी जम्म सञ्चालनमा आइसकेको छ ।तुलनात्मक रूपमा भोटेकोसी र पर्वतको मादी नदीको बन्जी जम्पभन्दा आधा होचो भए पनि यहाँबाट फाल हान्दा पनि बेग्लै मज्जा महसुस हुने गर्छ ।

पामे (फेवाताल किनार)

फेवातालको उत्तर पश्चिम किनारमा रहेको पामे पोखरा पुग्ने पर्यटकले पुग्नै पर्ने ठाउँ हो । यो ठाउँ माछाको परिकारका लागि प्रसिद्ध छ । पोखरेलीहरुले बिदाका अन्य दिनमा शनिबार विशेषगरी यहाँ पुग्ने गर्छन् ।फेवातालको किनारै किनार पुगिने पामेमा राम्रा होटल तथा लज सञ्चालनमा आइसकेका छन् ।फेवातालका गतिविधि अवलोकन गर्दै माछाको स्वाद चाख्न पामे प्रख्यात रहेको छ । पछिल्लो समयमा यहाँ पोखराका व्यवासयीको लगानीमा अपार्टमेन्ट लगायतका अन्य भौतिक पूर्वाधार निर्माण भइरहेका छन् ।

अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय

पोखरा पुगेपछि पुग्नैपर्ने ठाउँ हो– अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय । यहाँ पर्वतीय पर्यटनसँग जोडिएका कला, संस्कृति, भेषभूषा लगायत हिमाली कला र संस्कृति अवलोकन गर्न सकिन्छ । विभिन्न जातजाति भाषाभाषी र भेषभूषाबारे अध्ययन र अवोलकन गर्ने उपयुक्त स्थानका रूपमा यो सङ्ग्रहालय छ । २०६० साल माघबाट सञ्चालनमा आएको सङ्ग्रहालयमा हिमाली क्षेत्रमा बसोवास गर्ने जातजातिहरुको रीतिरिवाज, भेषभूषा, कला र संस्कृतिको साथै भौगोलिक अवस्थालगायत अन्य जानकारीमूलक सामग्री राखिएका छन् ।

महेन्द्र गुफा

यो पोखराको निकै चर्चित ठाउँ हो । महेन्द्र गुफा नजिकै अर्को चमेरी गुफासमेत छ । महेन्द्र गुफा पुगेपछि चमेरी गुफा पनि अवलोकन गर्न सकिन्छ ।घना जङ्गलको छेउमा अवस्थित चमेरी र महेन्द्र गुफा अवलोकन गर्दा रोमाञ्चकारी अनुभव हुन्छ ।

सेती खोँच

पोखरा बजारको मुख्य भागबाट बगेको सेती नदी पोखराको अर्को आकर्षण हो । सेती नदीले धेरै पर्यटकको ध्यान खिच्ने गर्छ । साँघुरो र गहिरो खोँचबाट बगेको हुँदा हिउँदमा पानी देख्न मुस्किल पर्छ । वर्षमा भने पानीमाथि आउने हुँदा सहजै देख्न पाइन्छ ।पोखराको बीचबाट बगिरहेको सेती नदी एकपटक अवलोकन गर्नैपर्ने ठाउँ हो । सेती नदी पुलबाट मात्र हेर्न सकिन्छ । पोखराको बीच भागमा रहेको रामघाटमा भने ठूलो बगर भएको हुँदा बाहिरबाटै स्पष्ट रूपमा सेती नदी हेर्न सकिन्छ । यहाँ पुगेपछि पोखराको वास्तविकता जानकारी हुन्छ । केही स्थानमा सेती फराकिलो घाट भए पनि त्यहीँबाट सानो दुलो हुँदै सेती नदी बिलिन भएको समेत देख्न सकिन्छ ।

माटेपानी गुम्बा

पोखरामा घुम्नका लागि छुटाउनै नहुने अर्को ठाउँ हो– माटेपानी गुम्बा । पोखरा क्षेत्रीय अस्पतालदेखि पूर्वी भागमा पर्ने माटेपानी गुम्बा निकै आकर्षक छ ।अग्लो ठाउँमा रहेको हुँदा यहाँबाट पनि पोखराको सुन्दर दृश्यावलोकन गर्न सकिन्छ । यो गुम्बाबाट लेखनाथ र निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थलसमेत देखिन्छ । यो बौद्ध तथा हिन्दू धर्मावलम्बीका लागि आकर्षक ठाउँ हो । पोखराको यस स्थान महाभूकम्पले सबैभन्दा धेरै असर गरेको ठाउँमा पर्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah