भारतको बिहार राज्यका अल्पसंख्यक कल्याण मन्त्री मोहम्मद जमाँ खाँ ठूलो दुर्घटनाबाट बाँचेका छन् । अधौरा प्रखण्ड पुगेको बेलामा जंगलमा डढेलो लागेको थियो । मन्त्री र उनीसँग गएको टोली डढेलोमा फस्यो ।त्यसपछि मन्त्री र कार्यकर्ताहरू घना जंगलमा पसे । लगभग चार घन्टासम्म उनीहरू जंगलमै बसे । अल्लाहको कृपाले आफू बाँचेको उनले बताए ।बुधवार बिहान ११ बजे लोहरा गाउँमा उनी एक व्यक्तिको तेह्रौंमा पुगेका थिए । त्यसक्रममा तेलहाड कुण्ड नजिक भयंकर डढेलो सडकमै आइपुग्यो । मन्त्रीको गाडी पछिल्तिरै घुमाएर भाग्न खोजेको भए पनि आगो द्रुत गतिमा आइपुग्यो ।
त्यसपछि गाडीलाई जसोकसो सडकबाट मैदानतिर झारियो । चर्को हावा चलेकाले आगोका लप्काहरू भयावह बनेका थिए ।आगोको लप्का २० देखि २५ फीट माथिसम्म पुगेको थियो । आगो अगाडि र पछाडि दुवैतिर बढेको थियो । त्यसपछि गाडीबाट हाम्फालेर मन्त्री, सुरक्षाकर्मी र कार्यकर्ताहरू पैदलै जंगलतिर भागे र त्यहीँ लुकिबसे । हावाको दिशा परिवर्तन भएपछि बल्ल आगोको राप कम भएको थियो ।तत्कालै दमकल बोलाइयो र त्यसले आगो निभाउने कोशिश गर्यो ।मन्त्री सहितका मानिस जंगलबाट बाहिर निस्केपछि प्रहरी पुगेको थियो ।



