काठमाडौँ । छिमेकी मुलुक भारतमा कोरोनाको संक्रमणले महामारीको रुप लिएपछि अक्सिजनको हाहाकार भएको छ ।
राजधानी दिल्लीस्थित सर गंगाराम अस्पतालमा अक्सिजनको अभावमा पछिल्लो २४ घण्टामा २५ जनाको मृत्यु भएको छ ।
अस्पतालले दिएको जानकारी अनुसार अस्पतालमा अब केहि घण्टाको मात्र अक्सिजन बाँकी रहेको छ ।
राजधानी दिल्लीका अस्पताल बाहिर अक्सिजनको अभावमा विरामी छटपटाइरहेका भिडियो क्लिप भारतीय मिडियाहरुले देखाइरहेका छन् ।
गंगा राम अस्पतालमा मात्र अझै गम्भीर रुपले विरामी रहेका ६० जनाको अवस्था चिन्ताजनक भएको छ । उनीहरुलाई हाइ प्रेशरको अक्सिजन चाहिनेमा अक्सिजनको प्रेशर नपुगेपछि अवस्था चिन्ताजनक बनेको अस्पतालले जनाएको छ ।
गंगाराम अस्पतालले भेन्टिलेटरले काम गर्न छोडेको बताएको छ ।
दिल्लीका चर्चित अस्पतालहरु फोर्टीस, म्याक्स अस्पतालहरुमा पनि अक्सिजनको अभाव भएपछि नयाँ विरामी भर्ना लिन छोडेका छन् भने भर्ना भएका विरामीलाई पनि बचाउन मुश्किल भईरहेको बताएका छन् ।
भारतीय स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो अपडेट अनुसार २४ घण्टामा कोरोनाबाट २२६३ जनाको मृत्यु भएको छ । भारतमा अहिले कुल मृत्यु हुनेको संख्या एक लाख ८६ हजार नाघेको छ । भारतमा अहिलेसम्म मृत्यु हुनेको संख्या एक लाख ८६ हजार ९२० पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा ३ लाख ३२ हजार ७३० जना संक्रमित पुष्टि भएको छ । यो सँगै भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या एक करोड ६२ लाख ६३ हजार ६९५ पुगेको छ ।
-खरिबोट बाट



