•कविता अधिकारी
नेपाली चलचित्रमा कलाकार लक्ष्मी गिरीको रोल प्रायः छुच्ची सासुको रुपमा देखिन्छ । छुच्ची सासुको सुहाउँदो भूमिकामा हिट भएपछि नै उनले राष्ट्र बैंकको जागिर छोडेर कलाकारिता अंगालिन् । तर, उनी अहिले निराश देखिन्छिन् । अनामनगरस्थित चलचित्र कलाकार संघको कार्यालयमा एक दिन भेट्दा उनले अभिनयप्रति नै निराशा जनाइन् । अहिलेसम्म एकसय ६५ चलचित्रमा अभिनय गरिसकेकी उनले चलचित्र क्षेत्रमा आएदेखि नै उनको अभिनय हिट भयो । त्यसै कारण उनी आफूलाइ के के न भइयो भन्ने ठान्थिन् । ‘अभिनय हिट हुँदा के के न हिट भइयो जस्तो लाग्थ्यो, अहिले दुइबर्ष यतादेखि भने म अलि सोच्न थालेकी छु’ उनले भनिन्, ‘यो त केही पनि होइन रहेछ ।’ कलाकारहरुको ठूलै जमघटबीच कुराकानी हुँदा पनि ती छुच्ची सासु झण्डै झण्डै रोइन् । झण्डै ४० बर्षसम्म कलाकारिता नै सबैथोक ठानेकी उनले राज्यबाट कुनै मुल्यांकन नभएको गुनासो पनि पोखिन् । अहिले लक्ष्मी दीपकराज गिरीको छक्का पन्जा दुई र कृ नामका फिल्ममा काम गरिरहेकी छिन् ।
बैंकको जागिर छोडेर कलाकारिता बाबुआमाकी एकमात्र सन्तान हुन् लक्ष्मी । १० बर्षको उमेर देखि नै उनले बालकलाकारको भूमिका निर्वाह गर्दै कलाक्षेत्रमा प्रवेश गरिन् । तर, त्यसबेला उनी नाटकमा मात्र भूमिका निभाउँथिन् । अहिलेजस्तो ब्यवसायिक कलाकार बन्नु भन्दा पनि लहैलहैमा लागेर कलाकारितामा प्रवेश गरिन् । कलाकारितामा प्रवेश गर्ने छोरीलाई त्यसबेलाको समाजले राम्रो नजरले त हेर्दैनथ्यो । तर, उनकी हजुआमा जो नेपालकै पहिलो तीनजना नर्स मध्येकी एक थिइन् । हजुरआमाले नातिनीलाई केही गर्न छुट दिनु पर्छ भनेर उनी कलाकारितामा सजिलैसित आइन् । त्यसैले उनी ‘खुसी’ नाटकबाट अभिनयमा प्रवेश गरिन् । ‘म २०२१ देखि २९ सालसम्म बाल कलाकार भएँ । त्यसपछि ३० सालमा विवाह भयो । विवाह भएको आठ बर्षजति कलाकारिता रोकियो । त्यस समय दुई छोरा र एक छोरीको लालन पालनमा समय दिनु पर्यो’ उनले भनिन्, ‘तर २८ सालदेखि राष्ट्र बंैकमा जागिर सुरु गरेँ । त्यस्तै ८ बर्षपछि राष्ट्र वैकको रजत जयन्तीका अवसरमा नाटक देखाउन पर्ने भयो र त्यहीँबाट पुनः कलाकारितामा फर्केँ ।’ चलचित्रमा काम गर्दा उनको अभिनय जहिल्यै हिट भएकाले पनि उनले पछाडि फर्केर हेर्नु परेन । तर, त्यही कुरा अहिले उनलाई पछुतो लाग्ने विषय बनेको रहेछ । ‘जुन अभिनयमा पनि हिट नै हिट भएपछि म खुब हौसिएँ’ उनले भनिन्, ‘मलाई त लाग्थ्यो म के के न भइसकेँ । तर अहिले सम्झेर ल्याउँदा तात्तो न भुत्लो पो रहेछ । बरु बेलैमा फ्लप भएको भए जागिरलाई निरन्तरता दिन्थँे होला । अहिले त जागिरपनि छैन यता पनि सन्तुष्टि छैन ।’
पहिलो चलचित्र उनले पहिलो वर्ष नै चार फिल्ममा काम गरिन् । चलचित्र भुमरी, फेरि भेटौंला, माया, कन्यादान उनले पहिलो वर्ष काम गरेका चार चलचित्र हुन् । फेरि भेटौंलामा उनी मनिषा कोइरालाकी आमा बनेकी थिइन् । उनलाई मनिषा कोइराला कहाँ हो कहाँ माथि पुगेजस्तो लाग्छ । ‘सँगै फिल्म खेलेको मनिषा र म, हेर्नुस मनिषा कहाँ पुगिन्, उता गएर करोडौं पैसा कमाइन् । उनको ठुलो स्थान भयो’ लक्ष्मीले भनिन् ‘मैले एकसय ६५ फिल्म खेलेँ तर खै फिल्म खेलेर केही पनि जोड्न सकेको छैन ।’ एउटा फिल्म खेल्दा मुस्किलले उनलाई ३० देखि ३५ हजा रुपैयाँ दिन्छन् निर्माताले, त्यो पटक किस्ता किस्ता गरेर । ‘हेर्नुस् एउटा फिल्म खेल्दा त्यस्तै ३०-३५ हजार दिन्छन् त्यो पनि एकै चोटी दिए त हुने नि’ उनले गुनासो गरिन्, ‘अलि अलि गर्दै कसैले पछि दिउँला पनि भन्छन् ।’ यस्तो हुँदा पनि उनले चलचित्रमा अटुट रुपमा काम गरिरहेकी छिन् । अहिले पनि उनी बर्षमा दुई तीनवटा चलचित्रमा काम गर्छिन् । छुच्ची सासुको रोल खेल्दा बुहारी माग्नै गाह्रो प्राय चलचित्रमा उनले छुच्ची सासुको रोल खेलिन् । पर्दामा छुच्ची सासुका रुपमा देखिंदा त्यसको छायाँ उनको ब्यक्तिगत जीवनमा पनि पर्न गयो, जव उनका छोराका लागि दुलही खोज्नु पर्ने बेला आयो । ‘सिनेमामा मलाई छुच्ची सासुका रुपमा देखेपछि त हेर्नुस् घरमा पनि म त्यस्तै छु भन्ने सोच्दा रहेछन्’ लक्ष्मीले गुनासो गरिन्, ‘छोराको बिहे गर्ने बेला सबैले मैमाथि प्रश्न उठाए ।’ आफैंले बुहारी हेर्न त उनले पाइनन् पाइनन् छोरासँग प्रेम भएका युवतीहरु पनि हुनेवाला सासुकै बारे प्रश्न उठाउँदा रहेछन् । छोराको बिहेमा कुराकानी टुंगो लगाएका दिन उनी कुरा भाँडिएला भनेर केटी हेर्न पनि गइनन् । छोराका लागि बुहारी खोज्न बरु उनकी छोरीले सघाइन् । छोराको बिहे गरेपछि पनि बुहारीहरुलाई अहिले धेरैले सोध्दा रहेछन् सासु कस्ती छिन् भनेर । ‘म आफैंलाई त धेरैले कस्ती छुच्ची भनेर सोधिरहन्छन्, बुहारीहरुलाई किन नसोध्नु ?’ उनले घटना सुनाईन्, ‘मेरो श्रीमानलाई पनि धेरैले कस्ती छुच्ची श्रीमती परेको भनेर सोध्दारहेछन् ।’ महिला डनको छवि, पैसा उठाइदिन भन्दै घरमै मान्छे छुच्ची महिलाको रोलले उनलाई कहिलेकाहीँ फाइदा पनि भएको छ । उनी भन्छिन्– कसैले हत्तपत्त हेप्न नसक्ने रहेछन् । उनले एक पटक दीपकराज गिरीकी छुच्ची आमाको रुपमा हास्य टेलिचित्र तीतो सत्यमा अभिनय गरिन् । लडाकु र डन आमाको भूमिका थियो उनको । टेलिचलचित्रमा छोराको डुबेको पैसा उठाएको दृश्यले गर्दा केही मान्छे लक्ष्मीलाई भेट्न आए । उनीहरुले आफ्नो पैसा डुवेको र त्यो उठाइदिन आग्रह गरे । अभिनयका कारण बनेको आफ्नो छवि नकारात्मक भए पनि वास्तविक जीवनमा आफू विनम्र रहेको उनको भनाई छ । ‘कसले के सोच्छन् भनेर साध्य पनि हुँदैन’ उनले भनिन्, ‘अभिनयमा छुच्ची देखिएर हुन्छ र ? म त निकै नम्र र दयालु छु ।’
कठोर अनुहार भित्रको कोमलता उनको अनुहार नै झट्ट हेर्दा कठोर लाग्छ । तर, उनको जीवनमा केही यस्ता घटना छन् जसले उनी भित्रको कोमल चरित्रलाई उजागर गर्छन् । कुराकानीकै दौरानमा पनि उनले छोराको एसएलसीको नतिजा आएको दिन बाहिर सुटिङमा रहनु पर्दा मन दुखेको वताइन् र आँखाबाट आँशु झारिन् । ‘अहिले संझिदा कति पारिवारिक क्षण मैले मिस गरिरहेको छु भन्ने लाग्छ’ आँखाबाट आँसु झार्दै उनले भनिन्, ‘कान्छो छोराले एसएलसी पास गरेको दिन म हत्या भन्ने फिल्मको सुटिङ नाायणघाटमा थिएँ । छोरो पास भएको सुनेपछि गम्लङ्ग अंगाले हालेर रुन मन लागेको थियो । तर, मैले पाइनँ ।’ एउटै पुरस्कार पाएकी छैन लक्ष्मीले आफ्नो अभिनयका दौरानमा चलचित्र क्षेत्रबाट बाहेक राज्यको तर्फबाट कुनै सम्मान र पुस्कार पाएकी छैनन् । नाम त उनको बनेको छ तर, छुच्ची महिलाको रुपमा । त्यसैले उनलाई कहिलेकाहीँ लाग्दो रहेछ– मैले के पाएँ ? ‘४० वर्ष देखि म अभिनयमा छु, मेरो नाम त चलेको छ’ उनले भनिन्, ‘नामले मात्रै त खान पुग्दैन ।’ उनलाई आफूले गरेका कामको मुल्यांकन आफू जिवित हुँदै हुनु पर्ने लाग्दो रहेछ । भनिन्– ‘मरेपछि गरिने सम्मानको के अर्थ र ? जे जे सम्मान हुने हो जिउँदो हुँदै हुनु पर्छ, मलाई मरेपछि सम्मान गर्नु पर्दैन ।’ उनलाई हरेक वर्ष राज्यले बाँड्ने सम्मान र विभुषण आफूले पनि पाउँछु कि भन्ने लाग्दो रहेछ । तर, विभुषण पाउने मान्छेहरुको नाम देख्दा अहिले भने उनलाई त्यसप्रति पनि वितृष्णा जागेको छ । ‘निर्णय गर्ने ठाउँमा चाकरी चाप्लुसी, जीहजुरी गर्नेकै बोलवाला छ’ उनले भनिन्, ‘त्यसरी पाउने सम्मानको के इज्जत छ र ?’



