२८ चैतमा हिमालय टीभीका पत्रकार बोमलाल गिरीलाई ज्वरो आउलाजस्तो भयो । जिउ, जोर्नी दुख्न थाल्यो । अनि कोरोना भाइरसको शंका लागेर उनले अफिसबाट बिदा लिए । ठीक होला कि भनेर केही दिन कुरे । तर, ज्वरो आउने, जिउ दुख्ने, खोकी लाग्ने भइरह्यो ।

२ वैशाखमा बोमलालले काठमाडौंको सिभिल हस्पिटलमा कोरोना परीक्षण गराए । रिपोर्ट पोजिटिभ आयो । सिटी भ्यालु २०/२० थियो । यसबेलासम्म उनलाई हनहनी ज्वरो आउन थालिसकेको थियो । आफूले १ सय १ डिग्रीसम्मको ज्वरो खेपेको बोमलाल बताउँछन् । ‘पछि ज्वरो त कम हुँदै गयो तर, बेस्सरी जिउ दुख्ने, हात खुट्टा कटकटी खाने समस्याले केही रात निदाउन सकिनँ’, उनले सुनाए ।

संक्रमणमुक्त भएपछि पत्रकार बाेमलाल गिरी नियमित काममा फर्किएका छन् । (तस्वीरः बाेमलाल गिरीकाे फेसबुक)
घरमा श्रीमती र ९ वर्षीय छोराको कोरोना रिपोर्ट भने नेगेटिभ आयो । २८ चैतमा अफिसबाट बिदा लिएर बोमलाल होम आइसोलेसनमा बसेका थिए । १० वैशाखमा उनले फेरि पीसीआर गराए । यसपटक पनि रिपोर्ट पोजिटिभ नै आयो । तर, सिटी भ्यालु ३२/३३ देखियो । सिटी भ्यालुमा जति ठूलाे अंक आयो, त्यति राम्रो मानिन्छ । ३५ भन्दा माथि हुँदा कोरोना नेगेटिभ हुने चिकित्सकहरू बताउँछन् ।

१३ दिनपछि कोरोना जितेर बोमलाल हिजोदेखि काममा फर्किएका छन् । ‘कोरोना केही होइन भनेर खेलाँची गर्न हुँदैन’, उनले भने, ‘लाग्यो भने मरिहालिन्छ भनेर आत्तिन पनि जरुरी छैन ।’

काठमाडौंको जीपी कोइराला मेमोरियल कलेजमा बीबीएस चौथो वर्षमा अध्ययनरत काठमाडौं थलीका सबिन राजभण्डारी गंगालाल अस्पतालमा काम गर्छन् । यही ४ वैशाखमा उनका एक सहकर्मीमा कोरोना भाइरसको संक्रमण पुष्टि भयो । कन्ट्याक्ट ट्रेसिङमा परेका सबिनमा पनि कोरोनाका लक्षणहरू देखिन थाले– ज्वरो आउने, जिउ दुख्ने, खोकी लाग्ने ।

६ वैशाखमा उनले कोरोना परीक्षण गराए । रिपोर्ट पोजिटिभ आयो । उनी सेल्फ आइसोलेट भए । बिस्तारै ज्वरो निको भयो, जिउ दुख्न पनि कम भयो । भन्छन्, ‘संक्रमणको नौ दिनपछि पुनः परीक्षण गराउँदा रिपोर्ट नेगेटिभ आयो ।’

होम आइसोलेसनमा बस्दा आफूले जम्माजम्मी तीनवटा सिटामोल खाएको उनले बताए । ‘सबैभन्दा महत्त्वपूर्ण कुरा त, यसबाट बच्नु नै हो । तर, रिपोर्ट पोजिटिभ आइहाल्यो भने आत्तिनु हुँदैन । आत्मविश्वास राख्नुपर्छ । अरुमा संक्रमण फैलिन सक्ने कुराप्रति सजग रहनुपर्छ’, उनले भने ।

बोमलाल र सबिनजस्तै नेपालमा २ लाख ७८ हजार ५ सय ६ जनाले कोरोना भाइरसलाई जितेका छन् । जबकि, अहिलेसम्म ३ लाख ७ हजार ९ सय २५ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार निको हुने यो दर ९० दशमलव ५ प्रतिशत हो । अर्थात् सय जनालाई कोरोना लाग्दा ९० जनाभन्दा बढी निको हुने गरेका छन् । पछिल्लो २४ घण्टामा ५ सय ५५ जना मानिसले कोरोना जितेका छन् । संसारमा कोरोनासँग जुधिरहेका २ सय २२ देश र क्षेत्रमध्ये नेपाल ५३औँ स्थानमा छ । यहाँ १० लाखमा १ सय ८ जनाको मृत्यु भइरहेको छ । नेपालभन्दा अगाडि काजकिस्तान र पछाडि जर्जिया छ । काजकिस्तानमा १० लाखमध्ये १ सय ९१ मानिसको मृत्यु भइरहेको छ भने नेपालभन्दा पछाडि रहेको जर्जियामा त्यति नै संख्याबाट १ हजार २४ जनाको मृत्यु भइरहेको छ ।

वर्ल्ड मिटरको तथ्याङ्कअनुसार संसारमा कोरोना संक्रमितको संख्या १४ करोड ९४ लाख ६३ हजार नाघेको छ । यीमध्ये १२ करोड ७० लाख ४१ हजार जना बिसेक भएका छन् । ३१ लाख ५१ हजार संक्रमितले ज्यान गुमाएका छन् ।

सबैभन्दा बढी ३ करोड २८ लाख २७ हजार संक्रमित अमेरिकामा छन् । त्यहाँ निको हुनेको संख्या २ करोड ५५ लाख २१ हजार छ । कोरोनाका कारण ५ लाख ८७ हजार ३ सय ८४ जनाको मृत्यु भोगेको अमेरिकामा पछिल्लो २४ घण्टामा एक जना संक्रमितको पनि मृत्यु भएको छैन ।

छिमेकी भारतमा १ करोड ८० लाख संक्रमित छन् । यीमध्ये १ करोड ४८ लाखले कोरोना जितिसके । मृतकको संख्या २ लाख नाघेको छ । अमेरिकामा १० लाख जनसंख्यामा १ हजार ७ सय ६६ जना मानिसले ज्यान गुमाउँदा भने भारतमा त्यति नै जनसंख्यामा १ सय ४५ जनाको मृत्यु भइरहेको छ ।

कोरोना भाइरसको ‘उत्पत्ति देश’ चीनले त संसारलाई चकित पारिदिएको छ । कोरोना संक्रमित संख्याका आधारमा वर्ल्ड मिटरले राखेको सूचीमा चीन ९५औँ स्थानमा छ । कुल ९० हजार ६ सय संक्रमितमध्ये ४ हजार ४ सयले ज्यान गुमाउँदा ८५ हजार ६ सय चिनियाँ ठीक भएका छन् ।

मृत्युको कारण कोरोनाभन्दा ज्यादा लापर्बाही

स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतम लापर्बाही नगरे कोरोनाले धेरै क्षति गर्न नसक्ने बताउँछन् । ‘कोरोनाभन्दा ज्यादा घातक त लापर्बाही हो’, उनले भने, ‘बेलैमा सावधानी अपनाए कोरोना नै लाग्दैन, लागिहाल्यो भने आत्तिनु भएन, चिकित्सकको सल्लाहनुसार गर्नुपर्छ ।’

कोरोनालाई छेउ पर्नै नदिने

कतिपय देश कोरोनाविरुद्धको युद्धमा विजयोन्मुख छन् । जस्तो कि चीन, इजरायल, जापान, इथियोपियाजस्ता देशमा मृत्यु दर निकै कम छ । निको हुनेको संख्या बढी छ । अमेरिकाले त अहिले भ्याक्सिन लगाइसकेका आफ्ना नागरिकलाई बिनामास्क हिँडडुल गर्न अनुमति दिइसकेको छ । अर्कातिर, केही देशचाहिँ फेरि लकडाउन, निषेधाज्ञाजस्ता कठिन उपाय अपनाउन बाध्य देखिएका छन् । नेपालसहित छिमेकी भारत प्रतिनिधि देश हुन् ।

विश्व स्वास्थ्य संगठनका अनुसार जुन देशका नागरिकले स्वास्थ्य सुरक्षाका मापदण्डहरू मजाले पालना गरेका छन्, तिनै देश कोरोनाविरुद्धको युद्धमा सफल हुँदै गएका छन् । तर, जहाँ उपायहरूको उल्लंघन वा यसको पालना गर्न ढिलाइ गरिँदै छ, त्यहाँ संक्रमण फैलिएको छ, अझै थुप्रै संक्रमित थपिने कुरालाई अस्वीकार गर्न सकिँदैन ।

‘नागरिक सुरक्षाका खातिर अवलम्बन गरिएका मापदण्ड लत्याउँदा त्यसको परिणाम के हुन्छ, पछिल्ला दिनमा संक्रमितको संख्याले बताइरहेकै छ’, स्वास्थ्य मन्त्रालयका प्रवक्ता गौतम भन्छन् ।

सामाजिक दूरी हाम्रो सामुदायिक जीवनको साझा हर्ष र आत्मीय उल्लासको भावनाविपरीत भए पनि बाध्यतावश हामीले यो बाटो अपनाउनैपर्नेमा जाेड दिन्छन् उनी । ‘घातक भाइरसको संक्रमण रोकथामका लागि योभन्दा उपयुक्त विकल्प हाम्रो अगाडि छैन । यो महामारीको प्रकृति र यसको निदानका लागि सबैले आवश्यक सावधानीलाई राम्रोसँग बुझ्न जरुरी छ । नागरिकले न यसबाट धेरै डराउनु आवश्यक छ, न त लापर्बाह हुन नै हुन्छ ।’
अन्य देशको तुलनामा कोरोनाका कारण नेपालले धेरै मूल्य चुकाउनुपरेको छैन, यो राहतको विषय हो । तर, सरकारी दिशानिर्देशको पालना नगर्दा भने छिमेकी भारतकै जस्तो नियती आइपर्न सक्छ ।
अहिले मानिसहरू कोरोनाको आशंकामा डराएर, आत्तिएर अस्पताल आउने गरेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक सागर राजभण्डारी बताउँछन् । तर, परीक्षण गर्दा कतिपयमा कोरोना संक्रमण देखिँदैन । ‘मनोवैज्ञानिक त्रास पनि बढ्दो छ’, उनले भने, ‘मूल कुरा आफूलाई सम्हाल्नुपर्छ । मर्नेभन्दा कोभिड जित्नेहरूको संख्या धेरै गुणा बढी छ ।’ सतर्कतालाई दुःख पाउनबाट रोक्न सकिने मूल उपाय मान्छन् उनी । ‘कोभिड लागिहालेमा दुःख पाइन्छ, चाहे त्यो शारीरिक होस् वा मानसिक । त्यसैले भीडभाडमा जान हुँदैन, मास्कको समुचित प्रयोग गर्नुपर्छ । सरसफाइमा ध्यान दिनुपर्छ । अहिले सतर्क भए पछि दुःख पाइँदैन ।’

मनोचिकित्सकहरू कोरोना भाइरसबारे अनावश्यक चिन्ता लिँदा मानसिक समस्या आइपर्न सक्ने चेतावनी दिन्छन् । मनोचिकित्सक डा. सरोज ओझा सचेत हुन तर नआत्तिन सुझाउँछन् । ‘भाइरसको प्रसार रोकथामका लागि मानिसहरू सचेत हुन आवश्यक छ । तर, अनावश्यक रूपमा यसबारे सोच्दा भविष्यमा मानसिक समस्या निम्तिन सक्छ’, उनले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah