काठमाडौं, १८ बैसाख । नेपालमा कोरोना संक्रमण बढेसँगै मृत्युदर समेत बढ्दै गइरहेको छ । नेपालमा आज (शनिबार) थप २१ जना संक्रमितको ज्यान गएको छ । यो संख्या हिजो र अहिले दिउँसोसम्मको मात्र तथ्याङ्क हो र मृत्यु हुनेमा बांकेका विभिन्न अस्पतालमा उपचाररत बाँकेका तीन, दाङका तीन र कपिलवस्तुका एक जना छन् ।
त्यस्तै, रुपन्देही र नवलपरासी पश्चिमका दुई जना कोरोना संक्रमितको उपचारका क्रममा बुटवलमा मृत्यु भएको छ । उता कञ्चनपुरमा थप चार जना संक्रमितको मृत्यु भएको छ ।
महाकाली अस्पतालमा उपचाररत दुई जना, होम आइसोलेसनमा बसिरहेका एक जना र उपचार गर्न लैजाँदैगर्दा बाटोमा एक जनाको मृत्यु भएको छ । यस्तै ताप्लेजुङमा सङ्क्रमित एक जनाको मृत्यु भएको छ । कैलालीमा पनि थप तिन जना संक्रमितको मृत्यु भएको छ ।
मृत्यु हुनेमा दुई महिला र एक पुरुष छन् । उता, कोरोना संक्रमणबाट बागलुङका एक युवाको मृत्यु भएको छ । त्यस्तै अर्घाखाँचीमा पनि एक जना पुरुषको कोरोनाबाट मृत्यु भएको छ । सुर्खेतमा पनि दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । उता वीरगञ्जमा एक जना पुरुषको कोरोनाका कारण मृत्यु भएको छ ।
हिजो मात्र नेपालमा कोरोनाबाट ३३ जनाको ज्यान गएको थियो । देशभरका अस्पतालहरुमा शैंया अभाव र अक्सिजनको अभाव हुन थालेको छ । जसका कारण संक्रमितहरुले उपचार नपाउने अवस्था सिर्जना हुँदै गएको छ । समयमा उपचार नपाउने समस्या बढ्दै जान थालेपछि संक्रमितको मृत्युको घटना समेत बढ्न थालेको छ ।



