नेपाल पत्रकार महासंघ बाँके शाखाले कोरोना पुष्टि भएका पत्रकारहरुको उपचार परामर्शका लागि फिजिसियन÷फोक्सो रोग बिशेषज्ञ डा. सुभाष योगीलाई परामर्शदाता नियुक्त गरेको छ । सोमवार महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारी र डा. योगीबीच उक्त विषयमा सम्झौता भयो । सम्झौता अनुसार डा. योगीले पत्रकारहरुलाई निःशुल्क परामर्श दिनुहुने छ ।
विश्वव्यापी रुपमा फैलिएको कोरोनाको दोस्रो लहरले चारैतिर समस्या पारेको छ । कोरोनाबाट नेपालमै बाँके जिल्ला बढी प्रभावित बनिरहेको छ । यसै परिपेक्षलाई मध्यनजर गर्दै आफ्ना पत्रकारको स्वास्थ्य सुरक्षाको ख्याल राख्नु पत्रकार महासंघ बाँकेले आफ्नो जिम्मेवारी र कर्तव्य ठानेकोे अध्यक्ष भण्डारीले बताउनुभयो ।
सोही जिम्मेवारी निर्वाह गर्ने क्रममा पत्रकार महासंघ बाँकेले नेपालगन्ज मेडिकल कलेजका फिजिसियन/फोक्सो रोग बिशेषज्ञ डा।सुभाष योगीलाई कोरोना अवधिभर निःशुल्क परामर्शदाता नियुक्त गरेको हो ।
कोही पत्रकार कोरोना लागेर बिरामी भएमा महासंघद्वारा डा. योगीलाई साथमा लिएर घरमै गइ स्वास्थ्य चेकजाँच गराइने छ । २ हजार भन्दा बढी कोरोनाका बिरामीको उपचार गरिसक्नु भएका डा।योगीले औषधी उपचार तथा विभिन्न जाँचहरु गराउनु हुने र गम्भीर स्वास्थ्य अवस्था देखिए अस्पताल भर्नाको लागि रिफर गर्नु हुने छ । महासंघ बाँकेले उक्त कार्यका लागि डा. योगीलाई हार्दिक धन्यवाद व्यक्त गरेको छ ।
कोरोना कसैलाई नहोस् भन्ने कामना गर्दै महासंघले यदि कोरोना भएमा अस्पतालमा उपचार गराउन महासंघ लागि पर्ने सबैलाई विश्वस्त हुन अनुरोध गरेको छ । कोरोना बिरामीलाई अक्सिजन अत्यावश्यक पर्ने भएकोले महासंघ बाँके शाखाले जिल्लाका पत्रकारको लागि अक्सिजन तयारी अवस्थामा राखेको जनाएको छ ।



