एजेन्सी । एक जना चिनियाँ नागरिकले ८५ वर्ष सम्म लुकाएको एक खप्परले मानव सम्यताको विषयमा निकै ठूलो रहस्य खुलेको छ । सो खप्पर फेला परेसंगै वैज्ञानिकहरूले लाखौं वर्ष पुरानो नयाँ प्रजातिको मानव खप्पर भएको र यसवाट मानव सभ्यतामा नयाँ खोज गर्न सकिने कुरा सार्वजनिक गरेका छन्।
हालै सार्वजनिक गरिएको ड्रागन म्यान उपनाम दिइएको यस खप्पर पूर्वी एशियामा कम्तीमा १ लाख ४६ हजार वर्षअघि जीवित रहेको मानव प्रजातिको भएको बीबीसीले उल्लेख गरेको छ।
सो खप्पर उत्तर पूर्वी चीनको हार्बिनमा सन् १९३३ मै भेटिएको थियो। तर यो खप्पर नयाँ प्रजातिको मानिसको हो भनेर वैज्ञानिकहरूले हालै मात्र पत्ता लगाएका हुन्। सो खप्परको विश्लेषण द इनोभेसन जर्नलमा प्रकाशित भएको छ। वैज्ञानिक टोलीले यो प्रजाति आधुनिक मानवको हालसम्म थाहा भएका नीयान्डर्टाल र होमो इरेक्टसजस्ता आदिम मानवभन्दा नजिकको पुर्खा भएको दाबी गरेको छ।
यूकेका मानव विकासविज्ञ प्राध्यापक क्रिस स्ट्रीङ्गर चिनियाँ खप्पर अध्ययन टोलीका एक सदस्य थिए। उनी बीबीसीसँग भन्छन्,‘गएको दश लाख वर्षको जीवावशेषको सम्बन्धमा यो अहिलेसम्म पत्ता लागेको सबैभन्दा महत्त्वपूर्णमध्ये एक हो।’ उनका अनुसार चीनमा भेटिएको मानव खप्पर मानव जातिको एउटा यस्तो हाँगो हो जुन होमो सेपियन्स ‘आधुनिक मानव’ बन्ने लहरमा थिएन तर यो क्षेत्रमा हजारौँ वर्ष जीवित रहेर अन्ततः लोप हुन पुग्यो।
अध्ययनकर्ताहरूका अनुसार यो खोजले मानव विकास इतिहासको पुनर्लेखन गर्न सक्ने सम्भावना बोकेको छ। सन् १९३३ मा उत्तरपूर्वी चीनको हेलियोङजियाङ प्रान्तमा जापानी उपनिवेश थियो। त्यहाँको हार्बिन सहरमा पर्ने सोङ्घुवा नदीमा पुल बनाउन चिनियाँ कामदार खटाइएको थियो।
पुल बनाउने काममा खटेका एक चिनियाँले जमिनमा मान्छेको खप्पर भेटाए। उनलाई लाग्यो(यो खप्परमा केही महत्वपूर्ण कुरा लुकेको छ। त्यसलाई उनले घर ल्याए। र्याप गरेर नजिकैको इनारमा गाडिदिए। त्यसबारे उनले वर्षौंसम्म कसैलाई केही भनेनन्। सन् २०१८ मा जब ती कामदार जीवनको अन्तिम मोडमा पुगे। प्राण छोड्नुअघि उनले आफ्ना सन्तानहरूलाई आफूले खप्पर लुकाएको ठाउँबारे बताए।



