अर्लिङ ब्राउट हालन्डले दुई गोल गर्नुका साथै दुईवटा गोलको अवसर सिर्जना गर्दा बोरुसिया डर्टमन्टले एइन्ट्राक्ट फ्राङ्कफर्टविरुद्ध शानदार जीत हासिल गर्न सफल भएको छ । शनिबार राति भएको खेलमा डर्टमन्ड ५–२ गोलले विजयी भएको हो ।
खेलको २३ औँ मिनेटमा हालन्डले मोर्को रिउसका लागि गोलको अवसर सिर्जना गरे । बुन्डेस लिगामा रिउसको क्लबका लागि यो १ सयौँ गोल थियो । तर, लगत्तै फेलिक्स पासल्याकले आत्मघाती गोल गरेपछि खेल बराबरी भयो ।
त्यसको ५ मिनेट पछि नै हालन्डको पासमा गोल गर्दै थ्रोगान हजार्डले पुनः डर्टमन्डलाई अग्रता दिलाए ।
लगत्तै २१ वर्षीय नर्वेजियन खेलाडीले गोल गर्दै डर्टमन्डको अग्रता फराकिलो बनाए । दोस्रो हाफमा हालन्डसँगै जियोभानी रेयनाले एक–एक गोल थपे । खेलको अन्त्यमा पिटर हगले सान्तवना गोल फर्काए ।
हालन्डले सबै प्रतियोगितामा डर्टमन्डका लागि ६१ खेलमा ६२ गोल गरिसकेका छन् । लिगमा ४४ खेलमा उनले ४२ गोल गरेका छन् ।
लिगमा यो डर्टमन्डको क्लब रेडर्क लगातार आठौँ जीत पनि थियो । यसअघि डर्टमन्डले सन् २०११–१२ सिजनमा योर्गन क्लपको नेतृत्वमा यो उपलब्धि हासिल गरेको थियो ।



