भारतीय र्‍यापर इमिवे बन्टाइले ६ महिनाअघि आफ्नो गीत ‘फिरसे मचाएंगे’ युट्युब च्यानलमा अपलोड गरे। गीत सार्वजनिक भएको तीन सातामै सात करोडभन्दा बढीले हेरिसकेका थिए। हाल करिब २२ करोडभन्दा धेरै ‘भ्युज’ पाएको उक्त गीत छोटो समयमै हिट भयो।

फिल्म ‘गली ब्वाइ’ मा समेत देखिएका इमिवेले नयाँ गीतबाट थप चर्चा पाए, गीतको भिडिओको पनि तारिफ भयो। अनि भिडिओग्राफरको समेत प्रशंसा हुन थाल्यो।

भारतीय र्‍यापर इमिवेको यो गीतका भिडिओग्राफर नेपाली हुन्- १८ वर्षीय निशान भुजेल।

काठमाडौंमा हुर्किएका निशान भिडिओग्राफर तथा म्युजिक भिडिओ निर्देशकका रूपमा परिचित भइसकेका छन्। नेपालका केही चर्चित म्युजिक भिडिओमा काम गरिसकेका उनी एक-दुई वर्ष अघिसम्म थोरैमाझ चिनिएका थिए। इमिवेको भिडिओपछि भने उनको कामले देश-विदेशसम्म चर्चा पाएको छ।

दुई वर्ष अघिदेखि भिडिओग्राफीमा सक्रिय निशान कम उमेरमै सफलता पाउनेमध्ये पर्छन्। यसका पछाडि उनको भिडिओग्राफी प्रतिको मोह र मिहिनेतको बलियो आड छ।

‘नौ कक्षा पढ्दादेखि नै भिडिओग्राफीतिर रूचि बढ्न थालेको थियो। दस कक्षाबाट भिडिओ बनाउँछु भनेर झोंक चलिसकेको थियो,’ निशानले त्यो बेला सम्झिँदै सेतोपाटीसँग भने, ‘त्यति बेला मसँग क्यामरा थिएन, न भिडिओ बनाउने अनुभव। मोबाइलबाट आफू घुमफिर गरेका सानो भिडिओ बनाउँथेँ। विस्तारै छोटा फिल्म र भिडिओबाट कथा देखाउन कोशिस गर्न थालेँ।’

उनी इन्टरनेटमा भिडिओग्राफीबारे खोजीखोजी हेर्थे। हरेक दिन नयाँ सिप सिक्थे। यही क्रममा उनले युट्युबमा क्यानडाका ट्राभल भिडिओग्राफर साम कोल्डरको भिडिओ देखे। साम भिडिओग्राफीबाटै संसारभर प्रशंसक बटुल्न सफल ‘इन्स्टाग्राम स्टार’ हुन्। कयौं भिडिओग्राफरका लागि प्रेरणा बनेका सामले निशानलाई पनि यस क्षेत्रमा लाग्न प्रेरित गरे भन्दा हुन्छ।

दस कक्षा सकाएर उनले घरमा क्यामरा किनिदिन आग्रह गरे। सुरूमा परिवारले पढाइमै ध्यान दियोस् भन्ने चाहन्थे। तर छोराको खुसी नै भिडिओग्राफीतिर देखेपछि आमाबुवाले नकार्न सकेनन्।

क्यामरा किनेको दिनदेखि उनी अझै धेरै ठाउँ डुलेर भिडिओ बनाउन थाले। युवा माझ ‘झोले’ नामले चर्चित उनका साथी भिडिओग्राफर प्रज्जवल थापा मगरसँग हिँड्थे। (यो पनि हेर्नुस्ः अनुष्कालाई मिस वर्ल्डमा अवार्ड दिलाउने भिडिओग्राफर)

‘हामी हरेक दिन नयाँ सिप सिक्थ्यौं र एकअर्कालाई पनि सिकाउँथ्यौं,’ निशान भन्छन्।

निशानले आफ्नो भिडिओ इन्स्टाग्राममा हाल्न थाले। उनको दिनचर्या नै बाहिर घुम्नु र भिडिओ बनाएर अपलोड गर्नु थियो। यो क्रम थालेको पाँच महिनामा निशानको जीवनले मोड लियो।

र्‍यापर मानष घलेले उनको इन्स्टाग्रामको भिडिओ देखेछन्। मानषले आफ्नो गीत ‘केरैसित्ती’ को भिडिओका लागि सहायक क्यामरा-म्यानका रूपमा निशानलाई काम दिए। एक वर्षअघिको त्यो प्रस्ताव नै उनको जीवनको पहिलो व्यवसायिक काम थियो जसले उनलाई आफूले भिडिओग्राफी गर्न सक्ने विश्वास दिलायो।

निशानका अनुसार मानषलाई उनको काम मनपर्‍यो। लगत्तै अरू भिडिओको जिम्मा पनि दिए। यसले उनलाई व्यवसायिक रूपमा काम सिक्ने मौका मिल्यो। आफ्नो सीपमा निखार आएको पनि महशुस गरे।

निशानलाई अरू कलाकारसँग पनि काम गर्ने इच्छा थियो। एक दिन उनको भेट ‘५ः५५’ नामले चिनिएका र्‍यापर चिराग सिंह खड्कासँग भयो। उनले चिरागको ‘लाइफ ज्याकेट’ गीतको भिडिओमा काम गर्ने मौका पाए। उनको काम अझै धेरैमाझ पुग्न थाल्यो।


यी सबैले निशानमा काम गर्ने भोक बढ्न थालेको थियो। यही भोकले उनलाई भारतीय सहर मुम्बई पुर्‍यायो भन्दा फरक पर्दैन।

र्‍यापर इमिवे एक वर्षअघि एउटा कार्यक्रमका लागि नेपाल आएका थिए। इमिवेको आगमन निशानका लागि ठूलो अवसर बन्यो।

‘म आफैं इमिवेको फ्यान हुँ। त्यो बेला कार्यक्रम हेर्न जाने सोच बनाइरहेको थिएँ,’ निशान अनुभव सुनाउँछन्, ‘तर मलाई इमिवेको कार्यक्रमको पर्दा पछाडिको सट खिचेर काम गर्ने इच्छा जाग्यो। केही नसोची, आफ्नो पुराना काम देखाएर इमिवेसँग काम गर्न इच्छुक रहेको भनेर इमेल पठाएँ।’

उनका अनुसार इमेल पठाएको तीन दिनपछि इमिवे आफैंले फोन गरे। आफूले इन्टरनेटमा देखे-सुनेको र मनपराएको कलाकारले फोन गर्दा उनी चकित भए। उनको खुसीले सीमा तब नाघ्यो जब इमिवेले उनलाई आफ्नो नयाँ गीत ‘चेकमेट’ को भिडिओ बनाउने प्रस्ताव राखे।

‘काठमाडौंमै सुटिङ भएको त्यो गीतको सबै सट र इडिटिङ मैले गरेँ,’ उनी भन्छन्, ‘मेरो काम मनपरेछ, मलाई अर्को कामका लागि इमिवेले मुम्बई नै बोलाउनुभयो।’

भारतीय र्‍यापर इमिवे बन्टाइसँग निशान भुजेल। तस्बिर सौजन्यः निशान भुजेल
निशानको नेपाल बाहिर त्यो पहिलो भ्रमण थियो। भिडिओग्राफी सुरू गरेको छोटो समयमै भारतीय चर्चित र्‍यापरसँग काम गर्न पाउनु उनको लागि सपना जस्तै थियो।

उनका अनुसार हालसम्म इमिवेसँग करिब सात वटा गीतमा काम गरिसकेका छन्। तीमध्ये ‘फिरसे मच्चाएंगे’ ले धेरै चर्चा पायो।

‘त्यो भिडिओ चर्चित होला भन्ने सोचेको थिइनँ,’ उनी भन्छन्, ‘मिहिनेत त सबैमा गरेको थिएँ।’

नेपालमा सानो टिमसँग काम गर्दाको अनुभवबाट एकाएक भारतको ठूलो टिमसँग काम गर्न पाउँदा धेरै कुरा सिक्न पाएको उनी बताउँछन्।

‘इमिवेसँग नेपालमै काम गरिसकेकाले भारतमा एक्लो महशुस भएन। बरु निकै उत्साहित थिएँ,’ उनी भन्छन्, ‘नेपालमा सानो बजेटमा काम गर्नुपर्छ। तर त्यहाँ ठूलो टिमसँगै बजेट पनि धेरै हुन्थ्यो। त्यसैले काम गर्न मलाई केही गाह्रो भएन।’

भारतमा काम गर्दाको अनुभवमध्ये उनलाई पहिलोपटक समुद्र देख्न पाउँदा खुसी लागेको बताए। सुटिङपछि सबै टिम रातभर सँगै बसेर गफ गरेको उनका लागि बिर्सिन नसक्ने क्षण हो।

भन्छन्, ‘मलाई अरूको ठाउँमा गएर काम गरेजस्तो कहिल्यै भएन। सबै साथीजस्तो भएका थियौं। नेपाल फर्केपछि उताको टिमसँगको सम्पर्क टुटेको छैन। इमिवेसँग अहिले पनि कुराकानी भइरहन्छ।’

धेरैले १८ वर्ष उमेर ‘सानै’ मान्छन्। तर निशानलाई काम क्रममा आफ्नो उमेरले कहिल्यै समस्या भएन। उल्टै सबैले ‘सानो उमेरमै राम्रो काम गरेको’ भन्दै हौसला दिने उनी बताउँछन्।

१२ कक्षामा अध्ययनरत उनी काममा निकै व्यस्त भइसकेका छन्। लकडाउनका कारण धेरै काम अड्किएकाले बल्ल परीक्षाका लागि तयारी गर्ने फुर्सद पाएको उनले बताए।

‘दस कक्षापछि धेरैजसो काममै हिँड्न थालियो। त्यसैले ११ र १२ को पढाइ राम्रोसँग पाइएन,’ उनी अलिकति चिन्ता व्यक्त गर्छन्, ‘काममा धेरै समय लाग्ने भएर कलेज कहिलेकाहीँ मात्र जान्थेँ।’

घरबाट पनि उनको पढाइ बिग्रिने भनेर चिन्ता हुनु स्वभाविक थियो। परिवारले उनलाई १२ कक्षापछि मात्र काममा ध्यान दिन सुझाए। तर निशानको स्वभावले मानेन। उनले कलेजमा कुरा गरेर आफ्नो कामलाई निरन्तरता दिइरहे।

‘भिडिओग्राफी मेरो नजिक छ तर त्यसका लागि पढाइ बिगार्ने कुरा पनि उचित हुँदैन,’ उनी भन्छन्, ‘काम र पढाइ सँगै लैजान धेरै गाह्रो हुन्छ तर पनि म पढ्न छाड्ने सोचमा छुइनँ।’

अहिले उनी म्युजिक भिडिओसँगै छोटा फिल्म बनाइरहेका छन्। उनको सपना पनि भिडिओग्राफीबाट फिल्म निर्माणमा लाग्नु हो।

आफूजस्तै उमेरका र अरू युवा यो क्षेत्रमा आकर्षित भएको देख्दा उनलाई खुसी लाग्छ। तर ‘ट्रेन्ड’ मा आएकै कारण यसको पछि भने नलाग्न उनी सुझाउँछन्।

‘ट्रेन्डमा आएका कुरा आज हुन्छ, भोलि हुँदैन। केहीछिनको चर्चा पाउन मात्र यसको पछि लाग्नु हुन्न,’ निशान भन्छन्, ‘कसैलाई साँच्चिकै भिडिओग्राफी गर्ने चाहना छ भने लाग्दा हुन्छ, तर पछि लागेकै भरमा गरेको काम सफल नहुन सक्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah