नेपाल विद्युत प्राधिकरणले आफ्नो पोल प्रयोग गरिरहेका इन्टरनेट सेवाप्रदायकलाई अप्टिकल फाइबर र पोलको भाडा नबुझाए तार हटाइदिने चेतावनी दिएको छ।
एक सूचना जारी गर्दै प्राधिकरणले आफ्नो विद्युतीय संरचना प्रयोग गर्ने तथा अप्टिकल फाइबर भाडामा लिएर सेवा दिइरहेका, तर भाडा नतिर्ने तथा सम्झौता नवीकरण नगर्ने सेवाप्रदायकको तार तथा उपकरण हटाउने चेतावनी दिएको हो।
प्राधिकरणले त्यसका लागि असोज १५ गतेसम्मको समयसीमा दिएको छ । उक्त समय अवधिभित्र सम्झौता नवीकरण नगर्ने, पोल तथा फाइबरको भाडा नतिर्ने इन्टरनेट सेवाप्रदायकको तार काट्ने तयारी प्राधिकरणले गरेको छ।
लामो समयदेखि विद्युत प्राधिकरण र इन्टरनेट सेवाप्रदायकबीच अप्टिकल तथा पोल भाडाको मूल्यलाई लिएर विवाद चल्दै आएको छ।
इन्टरनेट सेवाप्रदायकहरूले प्राधिकरणले तोकेको पोल तथा फाइबर भाडाको मूल्य पाँच सय प्रतिशतले वृद्धि गर्नु अस्वभाविक भएको भन्दै परिमार्जन हुनुपर्ने अडान राखेका छन्।



