अर्जेन्टिना लगातार १३ औँ पटक विश्वकप फुटबलमा छनाैट भएको छ। दक्षिण अमेरिकी महादेशको छनाैटअन्तर्गत बुधबार बिहान ब्राजिलसँग गोलरहित बराबरी खेलेपछि अर्जेन्टिनाले चार खेल खेल्न बाँकी रहँदै आगामी वर्ष कतारमा हुने विश्वकपमा सहभागिता जनाउने निश्चित गरेको हो।
अर्जेन्टिनाले सन् १९७४ देखि लगातार विश्वकप खेलिरहेको छ। विश्वकप समग्रमा १८ औँ पटक विश्वकपमा छनाैट भएको हो। बुधबार भएका अन्य खेलमा चिलेले इक्वेडरसँग हार ब्यहोरेपछि र कोलम्बिया, पाराग्वेसँग गोलरहित बराबरीमा रोकिएपछि अर्जेन्टिनाको छनाैट पक्का भएको हो।
१३ खेलपछि अर्जेन्टिना २८ अंक जोडेर तालिकाको शीर्षस्थानमा छ। समान खेलबाट ३५ अंक भएको ब्राजिल शीर्षस्थानमा छ। १० टोली सहभागी दक्षिण अमेरिकी महादेशको छनाैटबाट कम्तीमा चार टोली र बढीमा पाँच टोली सहभागी हुन्छन्। पाचौँ स्थानमा रहेको टोलीले अन्तर महादेशीय छनाैट खेल्छ। पाचौँ स्थानमा रहेको पेरुको १४ खेलबाट १७ अंक छ। चौथो स्थानमा रहेको कोलम्बियाको पनि १४ खेलबाट १७ अंक रहेको छ।
अर्जेन्टिना छनाैट भएसँगै लियोनल मेस्सी टोलीमा परे वा उनले खेल्न चाहे पाचौँपटक विश्वकप खेल्नेछन्। उनले सन् २००६ यता लगातार चार वटा विश्वकप खेलेका छन्। यसबीचमा अर्जेन्टिना विश्वकपमा एकपटक फाइनलसम्म, दुईपटक क्वाटरफाइनलसम्म र एकपटक प्रिक्वाटरफाइनलसम्म पुगेको थियो।
उनी सन् २०१४ को विश्वकपका सर्वोत्कृष्ट खेलाडी हुन्। गत जुलाईमा भएको कोपा अमेरिकाको फाइनलमा ब्राजिललाई हराएर सर्वाधिक सातपटकका फिफा वर्ष खेलाडी मेस्सीले सिनियर राष्ट्रिय टोलीबाट पहिलो उपाधि जितेका थिए। अर्जेन्टिना पछिल्ला २७ खेलयता अपराजित रहेको छ। दुईपटकको विश्वकप विजेता अर्जेन्टिनाले सन् १९८६ पछि यो प्रतियोगिता जित्न सकेको छैन।



