अमेरिका र क्यानडामा रहेका नेपालीभाषीहरूलाई लक्षित गर्दै दुई रियालिटी सोको घोषणा भएको छ। मंगलबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै (मेरो भ्वाइस कप अमेरिका-२) र (मेरो डान्स कप अमेरिका-४) को घोषणा भएको हो।
दुवै रियालिटी सोको इन्ट्रा नेसनल वेल्फेर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाको निर्माणमा हुन लागेको हो। फाउन्डेसनका अध्यक्ष डिल्ली अधिकारीका अनुसार आउने जनवरीबाट सो सुरु हुनेछ।
भ्वाइस कपको प्रस्तावित निर्णायकमा गायक प्रमोद खरेल रहेका छन् भने डान्स कपको निर्णायकमा अभिनेता दिलीप रायमाझी, नृत्य निर्देशक शंकर बिसी, अभिनेत्री केकी अधिकारी र नरमान राई छन्।
कार्यक्रममा बोल्दै फाउन्डेसनका अध्यक्ष अधिकारीले नेपाली भाषा र संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्दैै रियालिटी सोमार्फत अमेरिका र क्यानडामा रहेका नेपालीभाषीमा नेपाली भाषा, संस्कृतिको जागरूकता ल्याउनु रहेको पनि बताए।
अमेरिकामा अत्यन्त व्यस्त जीवन बिताइरहँदा पनि आफूहरूले कहिल्यै पनि नेपाली परम्परा, भाषा, रीतिथिति नछाडेको बताए । यही सोचका कारण २ रियालिटी सो सुरु गरिएको अधिकारीको भनाइ थियो।
यो फाउन्डेसनले नेपालमा रहेका ज्येष्ठ भुटानी शरणार्थीलाई मासिक ५ हजार भत्तासमेत उपलब्ध गराउँदै आएको छ।
कार्यक्रममा बोल्दै नायिका केकी अधिकारीले अमेरिकामा पनि नेपालीभाषीहरूलाई लक्षित गरेर यति ठूलो रियालिटी सो आयोजना हुन लागेको भन्दै खुसी व्यक्त गरिन्।



