सीताराम विवाहपञ्चमी महोत्सवमा सहभागीलाई मास्क अनिवार्य गरिएको छ । जिल्ला प्रशासन कार्यालय धनुषाले महोत्सवमा भिड हुने भएकाले मास्क अनिवार्य गरेको हो । धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले कोरोना महामारी फैलिन नदिन मास्क अनिवार्य गरिएको जानकारी दिए । उनका अनुसार महोत्सवमा सहभागी हुन आएका श्रद्धालुलाई करिव चार लाख मास्क वितरण गर्ने तयारी छ । विवाहपञ्चमीको मुख्य दिन भारत र नेपालबाट हजारौंको भिडमा सहभागी हुन आउने भन्दै संक्रमण फैलिन सक्ने अनुमान गरिएको छ । नेपाल र भारतमा कारोना भाइरसको नयाँ भेरियन्टसमेत फेला परेको हुनाले सचेतना अपनाइएको उनको भनाइ छ ।
“सरकारले अहिलेसम्म सीमा नाका बन्द गर्ने निर्णय गरेको छैन । त्यसैले भारतीय श्रद्धालु पनि विवाह पञ्चमीमा आउन पाउँछन्,” उनले भने, “मास्क नहुने श्रद्धालुलाई नाका र जनकपुर प्रवेश गर्ने ठाउँ ठाउँमा सुरक्षाकर्मीले मास्क उपलब्ध गराउँछन् ।”
नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी तथा नेपाल रेडक्रस सोसाइटीलगायत सामाजिक संघ संस्थाले हेल्थ डेस्क राख्ने र निःशुल्क मास्क वितरण गर्ने उनको भनाइ छ । श्रद्धालुलाई सहयोग गर्न स्वयमसेवक पनि परिचालन गरिएको छ । विवाहपञ्चमीमा सहभागी हुन आएका श्रद्धालुलाई सुरक्षा गर्न करिव तीन हजार प्रहरी परिचालन गरिएको उनले जानकारी दिए ।
बाहिर जिल्लाबाट १५ सय सुरक्षाकर्मी मगाएको र धनुषामै रहेका करिब १२ सय सुरक्षकर्मी पनि परिचालित छन् । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र अनुसन्धान प्रहरी गरी करिव तीन हजार प्रहरी परिचालन भएको उनको दाबी छ ।



