कोभिडविरुद्ध लगाइने करिब १५ लाख मोर्डना खोप आज (बिहीबार) नेपाल ल्याइने भएको छ । कोभ्याक्स सुविधाअन्तर्गत अमेरिकाबाट १४ लाख ९७ हजार ६ सय खोप ल्याइने भएको हो ।स्वास्थ्य सेवा विभागअन्तर्गत खोप भण्डार शाखाका प्रमुख बडेबाबु थापाकाअनुसार कोभ्याक्स सुविधाबाट करिब १५ लाख ल्याइने भएको छ । त्यसैगरी आइतबार जर्मनबाट १९ लाख ६५ हजार ६ सय खोप आउने भएको छ ।
गत शुक्रबार मध्यान्ह पहिलोपटक एयरवेजमार्फत मोर्डना १ लाख ८८ हजार ४ सय मात्रा खोप नेपाल ल्याइएको थियो । थापाकाअनुसार युनिसेफमार्फत खोप ल्याइएको हो । ‘कोभ्याक्सअन्तर्गत खोप ल्याइएको हुन सक्छ । कुन देशले दिएको त्यसबारेमा डकुमेन्टमा उल्लेख गरिएको छैन,’ उनले भने।
टेकु खोप भण्डारणकेन्द्रमा उक्त खोप राखिएको छ । माइनस १५ देखि ५० डिग्रीको तापक्रममा राखिएको थापाले जानकारी दिए । केन्द्रकै फ्रिजमा खोप राखिएको पर्याप्त भण्डार क्षमता रहेको उनले बताए । भारतबाट पनि ६ लाख कोभिशिल्ड खोप बुधबार प्राप्त भएको थापाले जानकारी दिए । ‘हाल नेपालले प्राप्त गरेको खोपहरू सबै कोभ्याक्सबाट प्राप्त गरेको हो,’ उनले भने ।
सरकारले भारतसँग कोभिसिल्ड र चीनबाट भेरोसेल खोप मात्र खरिद गरेको छ । एस्ट्राजेनेका, जोन्सन एन्ड जोन्सनलगायतका खोप कोभ्याक्स अन्तर्गत अनुदानमा प्राप्त गरेको छ । यसअघि एक लाख फाइजर मात्रा खोप कोभ्याक्स सुविधाअन्तर्गत अमेरिकाबाट नेपाल ल्याइसकेको छ ।



