गोरखामा आलु जोन कार्यक्रम सुरु भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाईमार्फत गोरखामा चालू आर्थिक वर्षदेखि आलु जोन सुरु भएको हो ।
आलु बालीमा आधुनिकीकरण गरी उत्पादन बढाउने उद्देश्यका साथ जिल्लाका तीन पालिकाका १५ वडा समेटेर आलु जोन कार्यक्रम सुरु गरेको कार्यालयका सूचना अधिकारी रवीन्द्र पौडेलले बताए । “जिल्लामा आलु उत्पादन हुने पकेट क्षेत्र समेटेर जोन बनाएका हौं,” उनले भने, “धार्चे गाउँपालिकाको वडा नं ३,४, ५ र ७, बारपाक सुलिकोट गाउँपालिकाका वडा नं १, २, ३, ४ र ७ र भिमसेन थापा गाउँपालिकाका वडा नं १,२, ३, ४, ७ र ८ मा आलु जोन कार्यक्रम कार्यान्वयन हुनेछ ।”
हालसम्म सो क्षेत्रको ५ सय हेक्टरमा आलुखेती गर्नेगरी ३१ कृषक समूह आलु जोनमा सूचिकृत भएका सूचना अधिकारी पौडेलले बताए । आलु जोनमा आबद्ध किसानलाई बीउ वितरण, सिञ्चाइ, प्रविधि, मेसिनरी औजारलगायतका क्षेत्रमा कार्यालयमार्फत सहयोग हुने उनको भनाइ छ ।
कार्यक्रम कार्यान्वयनका क्रममा कार्यालय र किसानबीच सहजीकरण तथा समन्वयका लागि जोनमा सूचिकृत भएका किसानको भेलाबाट आलु जोन सञ्चालक समन्वय समिति पनि गठन गरिएको छ । धार्चे गाउँपालिका–५ का मानबहादुर गुरुङको संयोजकत्वमा ९ सदस्यीय समिति गठन गरिएको हो ।
सो समितिले किसान र कार्यालयबीच समन्वय गर्नेछ । कार्यक्रम कार्यान्वयन भएसँगै जोनमा आबद्ध किसानले साना सिँचाइ, आलु भण्डारण घर निर्माण, हातेट्याक्टर, स्प्रेयर, क्रेट, तौल जोख्ने मेसिनलगायतका सामग्री उपलब्ध गराउन माग गरेका कार्यालयका सूचना अधिकारी पौडेलले बताए । किसानले माग गरेका कार्यक्रम जिल्लास्तरीय प्राविधिक समितिले आवश्यकता र प्राथमिकताका आधारमा छनोट गरी वितरण गरिनेछ ।
गोरखामा २ हजार ५ सय १८ हेक्टरमा आलुखेती हुँदै आएको छ । जसमा वार्षिक २५ हजार ४ सय ५५ मेट्रिक टन आलु उत्पादन हुँदै आएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई गोरखाले जनाएको छ । जिल्लामा प्रतिहेक्टर १०.१ मेट्रिक टन आलु उत्पादन भएको कार्यालयको तथ्यांक छ । अब आलु जोन कार्यक्रम सञ्चालनमा आएसँगै आलु उत्पादन बढ्ने अपेक्षा गरिएको कार्यालयका सूचना अधिकारी पौडेलले बताए ।



