दाइको जीवन जोगाउन भाइले आफ्नो कलेजो दान गरेका छन् । भाइको कलेजको ६० प्रतिशत हिस्सा लिएर कैलाली धनगढीका ३८ वर्षीय जीवन पुजाराले नयाँ जीवन थालेका हुन् ।कलेजो लिने जीवन पुजारा(बायाँ) र दिने कृष्ण पुजारा(दायाँ) चितवन मेडिकल कलेजका चिकित्सक तथा प्राविधिकहरुसँग । तस्बिर : रमेशकुमार पौडेल/कान्तिपुर,चितवन मेडिकल कलेज (सीएमसी) को शिक्षण अस्पतालमा उनको कलेजो प्रत्यारोपण भएको हो । माइला भाइ ३२ वर्षीय कृष्णले दाइ जीवनलाई कलेजो दान गरेका हुन् ।
नेपालमा २०७३ मंसिरमा कलेजो प्रत्यारोपण सेवा सुरु भएको थियो । उपत्यकाबाहिर पहिलो पटक गत चैत ८ मा सीएमसीको शिक्षण अस्पतालमा कलेजो प्रत्यारोपण भएको थियो । त्यसयता सीएमसीले पुजारासमेतको गरेर ६ जनामा कलेजो प्रत्यारोपण गरेको छ । जसमध्ये पुरुषले कलेजो दान गरेको यो पहिलो रहेको अस्पताल निर्देशक डा. दयाराम लम्सालले बताए ।प्रत्यारोपणमा संलग्न डा. सञ्जयकुमार यादवले १८–५० वर्षका स्वस्थ व्यक्तिले कलेजो दान गर्न सक्ने बताए । जसका लागि कलेजो लिने–दिने व्यक्तिको रक्त समूह मिल्नुपर्छ । पारिवारिक सदस्यबाट मात्रै कलेजो लिन पाइने कानुनी प्रावधान छ । जीवनको हकमा कलेजो दिन भाइ कृष्ण सहजै तयार भए । परीक्षण र अन्य प्रक्रियापछि पुस ४ मा कृष्णको कलेजोको ६० प्रतिशत जीवनको शरीरमा सारियो । ‘दाइलाई जोगाउनु मेरो कर्तव्य हो । परीक्षणपछि दिन मिल्छ भने दिन्छु भनेर तयार भएँ,’ कृष्णले भने ।
धनगढी–१९ का जीवन डेढ वर्षदेखि बिरामी थिए । उपचार गराउन नेपालगन्ज आएका बेला कलेजोमा समस्या भएको थाहा पाए । प्रत्यारोपण नै गर्नुपर्ने भनेपछि सीएमसी आएको उनले बताए । ‘पेट डम्म फुल्ने, शरीरमा पानी जम्ने, खाना नपच्ने जस्ता समस्या देखिएको थियो । फोक्सोमा पनि पानी जमेर सुत्नै नमिल्ने भएको थियो । अहिले त खाना पच्न सुरु भएको छ,’ उनले भने । १३ जना चिकित्सकसहित २५ जनाको टोलीले १२ घण्टा लगाएर प्रत्यारोपण सकेको थियो । यो टोलीमा भारतको एपोलो अस्पतालका ३ चिकित्सक पनि सामेल रहेको सीएमसीले जनाएको छ ।
रोगका कारण कलेजको ५०–६० प्रतिशत हिस्सा बिग्रँदासम्म खासै गम्भीर लक्षण देखिँदैन । बिग्रने दर त्यो भन्दा बढेमा प्रत्यारोपण गर्नुको विकल्प नहुने डा. यादव बताउँछन् । ‘समयमै प्रत्यारोपण गरे जीवन बाँच्न सक्छ । नभए ६ महिनादेखि बढीमा २ वर्षसम्मको आयु रहन्छ,’ डा. यादवले भने । प्रत्यारोपण गरिएको ४–६ महिनामा कलेजो लिने र दिने दुवैको कलेजो ९०–९५ प्रतिशतसम्म विकसित हुने उनको भनाइ छ ।जीवन शुक्रबार र कलेजो दिने भाइ कृष्ण एक सातापछि नै अस्पतालबाट डिस्चार्ज भएका थिए । ‘म सामान्य अवस्थामा आइसकेँ । कुनै अप्ठ्यारो छैन,’ सीएमसीले शुक्रबार गरेको पत्रकार सम्मेलनमा कृष्णले भने । दाइ जीवनले पनि आफ्नो स्वास्थ्य मा धेरै नै सुधार भएको बताए ।
प्रत्यारोपण शुल्क १५ लाखसमेत गरेर २५ लाखजति खर्च भयो,’ उनले भने ।सीएमसीमा एउटा प्रत्यारोपण असफल भएको छ । भरतपुर–६ का बोधराज पौडेलको गत असोजमा मृत्यु भएको थियो । प्रत्यारोपणमा सावधानी नअपनाएको भन्दै उनका परिवारले कारबाही अघि बढाएका छन् । सीएमसी अध्यक्ष डा. हरिशचन्द्र न्यौपानेले भने, ‘हामीले लापरबाही गरेको होइन, उहाँको शरीरमा प्रतिरोधी क्षमता कम भएर बचाउन नसकिएको हो ।’



