आइसीसी यू–१९ विश्वकप क्रिकेट छनोट अन्तर्गत एसिया क्षेत्रको छनोटको पाँचौ खेलमा नेपालले आज मलेसियाविरुद्ध बलिङ थालेकाे छ ।
बालेस्टीर रोडस्थित इन्डियन एसोसियसन ग्राउण्डमा हुने खेलमा नेपालले मलेसियाविरुद्ध पहिले बलिङ गर्ने गरिरहेकाे छ । मलेसियाविरुद्ध टस जितेपछि कप्तान सन्दिप लामिछानेले पहिले बलिङ गर्ने निर्णय गरेका हुन् ।
मलेसियाविरुद्ध नेपालका सन्दिप लामिछाने (कप्तान), दिपेन्द्र सिंह ऐरी, अनिल कुमार साह, किशोर महतो, सन्दिप सुनार, प्रनित थापा मगर, साहब आलम, आदील खान
, सन्दिप सुनार , रोहित कुमार पौडेल र प्रकाश केसी रहेका छन् ।
छनोटमा नेपाल ३ खेलमा जित र १ खेलमा हार बेहोर्दै ६ अंक जोडेर लिगको दोस्रो स्थानमा छ । नेपालले पहिलो र चौथो खेलमा आयोजक सिंगापुरलाई पराजित गरेको थियो ।
यस्तै नेपालले दोस्रो खेलमा मलेसियालाई पराजित गरेको थियो । तर, नेपाल तेस्रो खेलमा अफगानिस्तानसँग पराजित भएको थियो । अफगानिस्तानसंगको उक्त हारले नेपालको विश्वकपमा छनोट हुने सम्भावनामा धक्का लागेको थियो । लगातार चार खेल जितेको अफगानिस्तान ८ अंक जोडेर शिर्ष स्थानमा छ । यस्तै अपराजित टोली अफगानिस्तानको नेट रनरेट पनि नेपाल भन्दा राम्रो छ ।
डबल राउण्ड रोबिनका आधारमा जारी एसिया क्षेत्रको छनोटबाट एक टोलिले विश्वकप यात्रा तय गर्ने छ । छनोटको शिर्ष टोली अर्को वर्ष न्युजिल्यान्डमा हुने आईसीसी यू–१९ विश्वकपका लागि छनोट हुनेछन् । नेपालले अहिलेसम्म ७ पटक यु – १९ को विश्वकप खेलिसकेको छ ।



