विश्वका यस्ता थुप्रै जनजातिहरु रहेका छन्, जसको चालचलन र परम्पराको बारेमा सुन्दा पनि अचम्म लाग्ने गर्दछ । कुनै कुनै जनजातिहरुका प्रथा त यस्ता हुन्छन् कि जो कोहीलाई पनि पत्यार नलाग्न सक्छ । यस्तै विचित्र र धेरै पीडादायी खालको प्रथा इन्डोनेसियामा रहदै आएका जनजातिहरुले मान्दै आएका छन् ।
इन्डोनेसियाको पापुआमा रहँदै आएका दानी जनजातिका मानिसहरुमा परिवारको मुखियाको मृत्यु हुदाँ परिवारका सबै सदस्यहरुको बन्चरोले औला काटिदिने चलन रहेको छ । चाहे त्यो परिवारको बच्चा होस्, महिला होस्, पुरुष होस् वा बुढाबुढी नै किन नहोस् तर सबैले अनिवार्य रुपमा औला काट्नैपर्ने हुन्छ ।
यति मात्र नभई अनुहारमा माटो र खरानी पनि पोतिदिने गरिन्छ । यस जनजातिका मानिसहरुका अनुसार परिवारका सदस्यको औला काटिदिनाले उनीहरुलाई जुन पीडा हुने गर्दछ, त्यसबाट मृत व्यक्तिको आत्माले शान्ति पाउने गर्दछ । अन्यथा त्यो मृत व्यक्तिको आत्मा यताउता भड्किएर अन्य मानिसहरुलाई दुःख दिने गर्दछ ।
उनीहरुको औला काट्नु पूर्व औलालाई ३० मिनेटसम्म धागोले बाँधेर राखिन्छ । त्यसपछि सबै औला काटी ती औलालाई सुकाएर जलाउने गरिन्छ । यसो गर्दा मृत आत्माले सहजै शान्ति पाउने विश्वास उक्त जनजातिहरुमा रहेको छ ।
यस्तो पीडादायक प्रथाको अन्यका लागि त्यहाँको सरकारले पहल नगरेको भने होइन । केही बर्ष पहिले नै त्यहाँको सरकारले यो परम्परा बन्द गर्नका लागि आदेश दिइसकेपनि दानी जनजातिका मानिसहरुले यो परम्परालाई निरन्तरता दिदै आएका छन् ।



