काठमाडौँ ।भारतीय चर्चित नायक सलमान खान नेपाल आउने भएका छन् । सलमान खानसहित भारतीय कलाकारको टोली आगामी वैशाख ३ गते नेपाल आउन लागेका हुन् ।सलमान सहित नेपाल आउने टोलीमा अभिनेत्री सोनाक्षी सिन्हा, ज्याकलिन फर्नान्डिज, कोरोयोग्राफर प्रभु देवा, मुदस्सर खाना, अभिनेता मनिष पल, आयुश शर्मा, सई मांजरेकर, पार्श गायक गुरु रन्धावा लगायतका कलाकार रहेका छन् । दशरथ रंगशालामा हुने सांगीतिक कार्यक्रममा सलमानसहितको टोली नेपाल आउन लागेको हो ।
१० वर्षअघि क्यानेडियन पप गायक ब्रायन एडम्सलाई काठमाडौंमा उतारेर हालसम्मकै सबैभन्दा ठूलो सांगीतिक कार्यक्रम गर्ने लाजिम्पाटमा रहेको ओडीसी इन्टरटेनमेन्टले सलमानसहितका बलिउड कलाकारलाई काठमाडौंमा ल्याउन लागेको बताइएको छ ।सलमानसहितको टोलीलाई भुक्तानी गर्नुपर्ने कुल रकममध्ये ४ करोड पारिश्रमिक पठाउन ओडीसीले बुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट नेपाल राष्ट्र बैंकका लागि सिफारिस पत्र लिएको बताइएको छ ।
स्रोतका अनुसार एक साताअघि सलमान खानको भारतीय एजेन्सी जेए इभेन्ट्सको टोली काठमाडौं आई फर्केको थियो । सलमान खानको कार्यक्रम गर्ने संस्थाले त्यसबेला आयोजकबाट लिएको बैना रकम फिर्ता नगरी कार्यक्रम नै गर्ने सम्झौता गरेकाले यो कार्यक्रम आउने वैशाखमा रंगशालामा हुने बताइएको छ ।



