पाल्पा । मंसिर ४ गते सम्पन्न प्रदेशसभा निर्वाचन अन्तर्गत लुम्बिनी प्रदेशसभा सदस्यमा पाल्पाका सहोदर दाजुभाइ विजयी भएका भएका छन् । रुपन्देही क्षेत्र नम्बर २ (२) बाट निर्वाचित भोजप्रसाद श्रेष्ठ र पाल्पा क्षेत्र नम्बर १ (१) बाट निर्वाचित राजुप्रसाद श्रेष्ठ सहोदर दाजुभाइ हुन् । दुवै जना एउटै पार्टी नेकपा एमालेबाट निर्वाचित भएका हुन् ।
पाल्पाको रामपुरबाट रुपन्देही बसाइ सरेका भोजप्रसाद २०५४ सालको बुटवल नगरपालिकाको नगर प्रमुख समेत भएका थिए । यसैगरी रामपुरमै बसोवास गर्ने राजुप्रसाद पनि २०७४ मा रामपुर नगरपालिकामा नगर प्रमुखमा पराजित भएका थिए । यस पटक भने प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् ।
भोजप्रसाद रुपन्देहीको बुटवलमा र राजुप्रसाद जन्मथलो रामपुरमै रहेर लामो समयदेखि राजनीति र समाजसेवामा सक्रिय छन् । भोजप्रसाद यसअघि २०७४ को निर्वाचनमा एमालेबाट प्रदेशसभा सदस्य भएका थिए ।
उनी केही समय लुम्बिनी प्रदेश सरकारको मन्त्री समेत भएका थिए । मंसिर ४ गते सम्पन्न निर्वाचनमा रुपन्देही क्षेत्र २ (२) बाट नेकपा माओवादी केन्द्रका उम्मेदवार वामदेव क्षेत्रीलाई पराजित गर्दै निर्वाचित भएका हुन् ।
भोजप्रसादले १६ हजार ३ सय मत पाए भने प्रतिस्पर्धी क्षेत्रीले ९ हजार ४ सय १० मत पाएका थिए । पाल्पा क्षेत्र नं १(१) मा निर्वाचित राजुप्रसादले १७ हजार ६ सय ४२ मत प्राप्त गरेका थिए । प्रतिस्पर्धी कांग्रेसका श्यामकान्त खनालले १२ हजार २ सय ५२ मत पाएका छन् ।



