२९ भदौ, जनकपुर । जनकपुर-भिठ्ठामोड सडक ६ लेनको बनाउन माग गर्दै सत्तारुढ दल माओवादी केन्द्रसहित चार दलका नेताहरु महोत्तरीमा आमरण अनसन बसेका छन् ।
माओवादी केन्द्र्रका सतेन्द्रकुमार यादव, नयाँ शक्ति नेपालका रामकुमार शक्ति, तमलोपाका रमणकुमार ठाकुर र स्वतन्त्र मधेस गठबन्धनका रञ्जित राय मधेसी आमरण अनसनमा बसेका हुन् ।
उनीहरुले सडक चार लेनको सट्टा छ लेनको बनाउनु पर्ने, ३० महिनाको सट्टा १५ महिनामा सम्पन्न गर्नुपर्ने, मुख्य निर्माण व्यवसायीमार्फत काम गर्नुपर्ने र गुणस्तरीय सडक निर्माणका लागि स्थानीय सर्वपक्षीय अनुगमन समिति बनाउन माग गरेका छन् ।
हुलाकीमार्ग अन्तरगत गर्ने यो सडकखण्डको केही दिनअघि भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले शिलान्यास गरेका थिए । तर, स्थानीयबासी र राजनीतिक दलले भने अन्यत्र जस्तै यो खण्ड पनि ६ लेनको हुनुपर्ने माग गर्दै विरोध गर्दै आएका छन् ।



