संखुवासभामा निर्माणाधीन मेन्छियाम हाइड्रोपावरले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि फागुन १० गतेदेखि फागुन २५ गतेसम्म आइपिओ निष्कासन गर्न लागेको छ।
कम्पनीले जारी पुँजीको १०% अर्थात् ५ करोड ४२ लाख ५८ हजार ३०० रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ दरका ५ लाख ४२ हजार ५८३ कित्ता साधारण शेयर स्थानीय बासिन्दाहरूका लागि निष्कासन गर्न लागेको हो।

सोमध्ये अति प्रभावित क्षेत्र संखुवासभा जिल्ला साविक सिद्धकाली, सिद्धपोखरी र मावादीन गाविसका बासिन्दाहरूका लागि २ लाख ७१ हजार २९२ कित्ता सेयर र बाँकी २ लाख ७१ हजार २९१ कित्ता सेयर संखुवासभा जिल्लाका बासिन्दाहरूको लागि वितरण गर्न लागेको कम्पनीले बताएको छ।

स्थानीय बासिन्दाले आयोजनाको कार्यालय, मादी नगरपालिका वडा नं. ७, वाघा, चैनपुर नगरपालिका वडा नं. ३, तिनखोप्रे रेडक्रस भवनका साथै एनआइसी एशिया बैंक, ग्लोबल आइएमई बैंक र नेपाल एसबिआई बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् भने वैदेशिक रोजगारीमा रहेकाहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी-आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरू तथा सिडिएस एण्ड क्लियरिङ लिमिटेडले निर्माण गरेको सफ्टवेयर ‘मेरो सेयर’ अनलाइन प्रयोग गरी सी-आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागी १ लाख ८ हजार ५१७ कित्ता आइपिओ निष्कासन गर्न लागेको छ भने दुवै समूहका लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन।

आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूले भने चैत ९ गतेसम्म आवेदन दिन सक्नेछन्।
कम्पनीलाई केयर रेटिङ नेपालले ‘केयर एनपी डबल बी इस्युअर’ रेटिङ प्रदान गरेको छ। जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको जनाउँछ।



