प्रजातन्त्र दिवसको अवसरमा टुँडिखेलमा आयोजीत कार्यक्रममा नेपालमा भएका विभिन्न प्रगतिशील आन्दोलनहरु साथै आन्दोलनको क्रममा भएका शहिद, बेपता, घाइतेहरु लाई सम्झदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचन्ड’ले संविधानले अवलम्बन गरेको सामाजिक न्याय र समानतामा आधारित समाजवादउन्मुख अर्थतन्त्रको निर्माण गर्ने तथा समावेशी आर्थिक समृद्धि हासिल गर्नका लागि बृहत्तर राष्ट्रिय सहमति आजको ऐतिहासिक आवश्यकता भएको बताएका छन्।
उनि भन्छन ‘देशको राजनीति र अर्थतन्त्रले संकटपूर्ण परिस्थितिको सामना गरिरहेको पृष्ठभूमिमा गठन भएको नयाँ सरकार राष्ट्रिय सहमतिसहित सामाजिक न्याय, सुशासन र समृद्धिको प्राथमिकता निर्धारित गर्दै जनताको अवस्था बदल्न, सरल र सहज सेवाप्रवाहमार्फत् सुशासनको प्रत्याभूत गर्न, अर्थतन्त्रका चुनौतीहरू सम्वोधन गर्दै समृद्धि संस्थागत गर्न, संक्रमणकालीन न्यायको सिद्धान्तका आधारमा मुलुकमा दीगो शान्ति स्थापित गर्न, देशको भूराजनीतिक अवस्थालाई हृदयंगम् गर्दै स्वतन्त्र र सन्तुलित कुटनीतिक सम्बन्ध स्थापित गर्न सरकार दृढ छ।‘
‘लोकतन्त्र र लोकतान्त्रिक प्रणालीलाई थप सुदृढ गर्दै दशकौंदेखिको नेपाल र नेपाली जनताको विकास र समृद्धिको राष्ट्रिय आकांक्ष पूरा गर्न सकिन्छ। उपेक्षित, उत्पीडित, सीमान्तकृत एवं विभेदमा पारिएका वर्ग, जाति, क्षेत्र, लिंग र समुदायको राज्यमा समानुपातिक प्रतिनिधित्व एवं आर्थिक जीवनमा गुणात्मक रूपान्तरणको माध्यमबाट मात्र सामाजिक न्यायको प्रत्याभूत गर्न, सुशासन र समृद्धिलाई गति दिन सकिन्छ र संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ एवं प्रभावकारी कार्यान्वयन गरेर नै मुलुकको लोकतान्त्रिक प्रणाली र संविधानको प्रगतिशील कार्यान्वयन सम्भव छ’ उनि थप्छन।
त्यसैगरी उनले सबै आन्दोलनहरूप्रति उच्च सम्मान व्यक्त गर्दै समाजवादउन्मुख राज्यको आधार तयार पार्ने राष्ट्रिय कार्यभारमा एकजुट भएर लाग्न सम्पूर्ण जनसमुदायमा अपील समेत गरेका थिए।



