हामीकहाँ घरव्यवहार, कामकाज वा व्यापारको लागि पैसा चाहियो भने साथीभाई, आफन्त, चिनजानका मानिससँग सापटी लिने चलन छ। केही समयभित्र फिर्ता गर्ने भाका दिएर पैसा सापटी लिन्छन्। कतिले तमसुकै बनाएर लेनदेन गर्छन्। अनि भाका दिएको समयमा फिर्ता नगर्ने पनि हुन्छन्। भाका दिएर लिएको पैसा फिर्ता नगरेपछि विवाद हुन्छ।
यसरी दिएको पैसा फिर्ता नआए के गर्न सकिन्छ? पैसा फिर्ता पाउने कानुनी उपचार र त्यसका प्रक्रिया के/के हुन्? सुरूमै मानिसलाई पैसा लेनदेनबाट आउने समस्याबारे बुझ्नु पर्ने कुराहरु।
सर्वप्रथम पैसा कसरी लियो भन्ने कुरा आउँछ।
लिखत गरेर पैसा लिएको छ भने लिखत प्रमाण लिएर अदालतमा गएपछि अदालतले दिलाउँछ। चेकको माध्यमबाट पैसा लिएको छ तर फिर्ता आएन भने बैंकिङ कसुरको मुद्दाको जाहेरी लिएर प्रहरीको जाने वा चेक अनादरको मुद्दा लिएर अदालतमा जान सकिन्छ।
अनलाइन माध्यमबाट पैसाको कारोबार भएको थियो भने त्यसको नगदको रसिद, भरपाईको बिल लिएर प्रमाणस्वरूप पेश गर्न सकिन्छ। अदालतले मुद्दाको प्रक्रिया हेरेर थप कारबाही अगाडि बढाउँछ।
पचास हजारभन्दा माथिको मूल्य राखेर लेनदेनको कार्य गर्दै हुनुहुन्छ भने त्यसलाई सम्बन्धित वडा कार्यलय वा स्थानीय तहमा गएर दर्ता गर्नुपर्छ। पचास हजारभन्दा मुनिको लेनदेनको कार्यमा कागज गरिराख्नुपर्दैन। पचास हजारभन्दा माथिको कारोबार हुनुसाथ लिखित रूपमा तमकुस बनाएर वडामा लगेर दर्ता गर्नुपर्छ प्रमाण राख्नुपर्छ अन्यथा त्यस लेनदेनले कुनै कानुनी मान्यता प्राप्त गर्दैन।
पचास हजारभन्दा मुनिको रकममा नगद कारोबार गर्योय भने त्यसको कुनै प्रमाण हुँदैन र पैसा फिर्ता आउने सम्भावना पनि न्यून हुन्छ। तर स्थानिय तहमा कुनै किसिमको लिखित प्रमाण बनाएको छ वा अनलाइन र चेकबाट कारोबार गर्दाको भरपाई छ भने पनि ती प्रमाणको आधारमा पैसा फिर्ता आउने प्रक्रिया अघि सारिन्छ।
नगद पैसा लेनदेन गर्दा तमसुक बनाएर प्रमाण राखेको छ भने पैसा फिर्ता आउँछ। तर ५० हजार माथिको लेनदेन भने तमसुक भए पनि/ नभए पनि वडा कार्यलयमा दर्ता गरिएको छ भने त्यसलाई प्रमाण मानेर पैसा फिर्ता लिन सकिन्छ। यस्तो दर्ता छैन भने फिर्ता ल्याउन सकिने सम्भावना न्यून हुन्छ।
चेक लिँदा उल्लेखित रकम छैन वा पैसा फिर्ता भएन भने सम्बन्धित बैंकमा गएर आफूले चेक जम्मा गर्दा वा भुक्तानीको माग गर्दा बैंकले पर्याप्त पैसा नभएको वा आफूले रोकेको कारण आफूले पैसा प्राप्त गर्न नसकेको पाइएमा चेक बाउन्स भएको देखाएर मुद्दा दर्ता गर्न सकिन्छ। बैंकिङ कसुरको मुद्दा परेमा जसले पैसा फिर्ता दिँदैन उनलाई बिगोबमोजिम जरिवाना र तीन महिनासम्म कैद हुन सक्छ। कम्पनीको हकमा भने बिगो भराई र जरिवाना तिराउने कानुनी प्रावधान छ। अर्को तरिकामा दुनियाँवादी फौजदारीबाट मुद्दा हालेर सिधै अदालत समक्ष जान सकिन्छ।
लेनदेन कारोबारमा आउने समस्याबाट जोगिने मुख्य कुरा भनेको प्रमाण राख्नु हो। त्यसकारण कुनै पनि किसिमको नगद पैसा लेनदेनको कार्य गर्दै हुनुहुन्छ भने अनिवार्य रूपमा लिखित गर्नुहोला र सम्बन्धित वडा कार्यलयमा गएर दर्ता गर्नुहोला। लिखित प्रमाण नभएमा करोडौंको लेनदेन भए पनि फिर्ता आउने सम्भावना एकदमै कम हुन्छ। अर्को तरिका भनेको बैंकको माध्यमबाट लेनदेनको काम गर्नुहोला। अथवा अनलाइनको माध्यमबाट कारोबार गर्नुहोला। साथै, त्यसको प्रमाणको रूपमा स्क्रिनसट वा भरपाईको रसिद वा कुनै किसिमको प्रमाण आफूसित राखिराख्नु पर्छ।



