नेकपा एमालेले माओवादीका पूर्व लडाकुलाई जनही २ लाख रुपैयाँ दिन लागेको भन्दै त्यसको विरोध गरेको छ ।
शुक्रवार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै एमालेका प्रमुख सचेतक पदम गिरीले करिब ४८ सयभन्दा बढी व्यक्तिहरूलाई राज्य कोषको ढुकुटीबाट दुई दुई लाख नगद निकालेर बाँडिन लागेको भन्दै आपत्ति जनाए ।
प्रमुख सचेतक गिरीले आर्थिक रूपमा कमजोर अवस्थामा रहेका बेला देश लुट्ने काम भइरहेको बताउँदै सो कुराको खारेज गर्न अन्यथा जुनसुकै कदम चाल्न सक्ने चेतावनी समेत दिए ।
उनले अनमिनले प्रमाणीकरण गर्ने बेलामा कति व्यक्ति थिए भन्ने एकिन नभई माओवादीले ९५ करोड रुपैयाँ पैसा बुझेर गएको भन्दै त्यो पैसा कहाँ गयो भन्दै प्रश्न गरे ।
गिरीले भने– ‘माओवादीका अयोग्य लडाकुका नाममा करिब ४८ सय भन्दा बढी व्यक्तिहरूलाई राज्य कोषको ढुकुटीबाट दुई दुई लाख नगद निकालेर बाँडिँदै छ भनेर सुनिएको छ । हामीलाई भन्नुपर्ने के छ भने १ अर्ब ४० करोड रुपैयाँ शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्नका लागि भनेर चालू आर्थिक वर्षमा छुट्टाइयो ।
आज सत्य निरूपण तथा मेलमिलापको काम थाँती राखिएको छ, त्यतातिर सरकारको ध्यान चिन्ता छैन । पैसा निकालेर लडाकुहरूको नाममा पैसा बाँडिन्छ ।’
उनले अगाडि भने– ‘हाम्रो सरकारलाई प्रश्न छ, हिजो अनमिनले प्रमाणीकरण गरेका लडाकुहरू पछि पुन प्रमाणीकरण हुँदा खेरी २ हजार ४ सय ५१ जना को व्यक्ति थिए भन्ने एकिन गर्न सकिएन ।
ती व्यक्ति कहाँ हराए थाहा भएन । तिनका नाममा तत्कालीन नेकपा माओवादीले ९५ करोड रुपैयाँ पैसा बुझेर गयो । त्यो पैसा कहाँ गयो ? महालेखाले प्रतिवेदनमा प्रश्न उठाएको छ । त्यसको जवाफ आज पनि अनुत्तरित अवस्थामा आज पनि रहेको छ ।’
उनले शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्याउन काम नगर्ने तर देशको ढुकुटीबाट पैसा लगिरहने भन्दै प्रश्न गरे । जनताले दाल चामल किनेर खान नसक्ने अवस्थामा देश लुट्ने काम भइरहेको बताउँदै गिरीले सो कुराको खारेज गर्न समेत माग गरे ।
कर्मचारी तलब खान नसक्ने अवस्थामा पुगेको र नियमित काम समेत हुन नसक्ने अवस्थामा पुगेको उल्लेख गर्दै उनले सो कुरालाई नजरअन्दाज गरेर सरकार अगाडि बढेमा जस्तोसुकै कदम उठाउन सक्ने चेतावनी दिए ।



