महिलाहरूको ब्राको आकारअनुसार छुट दिने घोषणा गरेपछि चीनको एउटा रेस्टुरेन्ट विवादमा तानिएको छ । झेङजियाङ प्रान्तको हाङझोउको ट्रेन्डी स्रिम्प रेस्टुरेले महिलाले लगाउने ब्राको आकारअनुसार छुट दिने घोषणासहितको विज्ञापन सार्वजनिक गरेपछि विवादमा तानिएको हो ।
ब्रा र पेन्टीमा सजिएर लामबद्ध उभिएका महिलाको कार्टुनसहितको विज्ञापन कम्पनीले सार्वजनिक गरेको छ । विज्ञापनमा ‘सम्पूर्ण सहरले स्तन खोजिरहेको’ नारा लेखिएको छ । रेस्टुरेन्टले दिने छुट महिलाको कप साइजमा निर्भर हुने र सबैभन्दा ठूला स्तन हुने युवतीले भारी छुट पाउने सो विज्ञापनमा उल्लेख छ । सो पोस्टरमा अश्लील विज्ञापन चित्रण गरिएको र महिलाप्रति विभेद गरिएको स्थानीय बताउँछन् ।
सो विज्ञापन सर्वप्रमथ अगस्टको पहिलो साता सार्वजनिक गरिएको थियो । तर, चौतर्फी विरोधपछि अहिले हटाइएको छ । बिक्री गर्ने नयाँ रणनीतिअनुसार नयाँ प्रवृत्तिको विज्ञापन गरिएको ट्रेन्डी स्रिम्पका महाप्रबन्ध लान सेङगाङ बताउँछन् । ‘विज्ञापनमा ब्रा र पेन्टीको कार्टुनमा महिलालाई चित्रण गरेपछि ग्राहकको संख्या २० प्रतिशतले बढेको छ’ उनी भन्छन् । ‘केही युवतीहरूले हाम्रो रेस्टुरेन्टमा आउन पाउँदा गौरवान्वित महसुस गरेका छन् । लुकाउनुपर्ने कुरा केही छैन ।’
युवतीहरूलाई रेस्टुरेन्टका मालिक र पुरुष कर्मचारीले स्तनको आकार नाप्न बाध्य पार्ने छैनन्, बरु होटेलमा खटिएका महिला वेटरले एउटा फित्ताले सावधानीपूर्वक महिलाका स्तनको आकार मापन गर्नेछन्, ताकि उनीहरूले कुनै प्रकारको लाज अनुभूति गर्न नपरोस् ।
चीनमा स्तनको आकारका आधारमा रेस्टुरेन्टले युवतीलाई छुट दिने घोषणा गरेको यो पहिलोपटक होइन । सन् २०१५ मा हेनान प्रान्तको एउटा रेस्टुरेन्टले सुन्दर, सेक्सी र आकर्षक महिलालाई छुट दिने बम्पर योजना ल्याएको थियो । त्यसअघि सोही प्रान्तको एउटा रेस्टुरेन्टले मोटा पुरुष र पातला महिलालाई विशेष छुट दिएको थियो ।
अश्लीलतालाई प्रोत्साहन गरेको भन्दै स्थानीय मानिसहरूले सो रेस्टुरेन्टविरुद्ध स्थानीय परिषद्मा उजुरी गरेको चीनको क्वान्जियाङ्य इभिनिङ पोस्टले जनाएको छ ।



