मोरङको उर्लाबारीमा चार दिनदेखि हराइरहेकी एक महिलाको शव बक्राहा खोला किनारको काँसघारीमा सडेको अवस्थामा फेला परेपछि प्रहरीले उनकै श्रीमानलाई पक्राउ गरेको छ ।
घटना शंकास्पद देखिएपछि प्रहरीले अनुसन्धानको लागि मृतकका श्रीमान दिलबहादुर लिम्बूलाई पक्राउ गरेको हो ।
उर्लाबारी नगरपालिका–१ लक्ष्मीझारकी ४३ वर्षीया सविता कान्दाङ्वा लिम्बूको शव मंगलबार बिहान उर्लाबारी–१ स्थित बक्राहा खोलाको लन्डन ब्रिजनजिक काँसघारीभित्र घोप्टो परेको अवस्थामा भेटिएको थियो । स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय उर्लाबारीबाट प्रहरी निरीक्षक नवीन वली नेतृत्वको प्रहरी टोली घटनास्थल पुगेको थियो । प्रारम्भिक अवस्थामा शव सुन्निएको र सडेर दुर्गन्धित भइसकेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
मृतकको सनाखत उनले लगाएको कपडाको आधारमा उनका श्रीमानले नै गरेका थिए । सविता उर्लाबारीमै सिलाइकटाइको काम गर्दै आएकी थिइन् । उनी जेठ ९ गते शनिबार बिहानदेखि परिवारको सम्पर्कमा नरहेको खुलेको छ ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी सन्तोष श्रेष्ठका अनुसार शवको अवस्था तथा घटनाको प्रकृति हेर्दा मृत्यु शंकास्पद देखिएको छ । माइती पक्ष तेह्रथुमबाट आएपछि कानुनी प्रक्रिया पूरा गरेर शव पोस्टमार्टमका लागि विराटनगरस्थित कोशी अस्पताल पठाइएको उनले बताए ।
घटनाको गम्भीरता हेर्दै कोशी अस्पतालका फरेन्सिक विज्ञसहित मोरङ प्रहरी प्रमुख एसपी कवित कटवाल समेत घटनास्थल पुगेका थिए । प्रारम्भिक अनुसन्धानबाट मृत्युको कारण खुल्न सकेको छैन ।पोस्टमार्टम रिपोर्ट र विस्तृत अनुसन्धानपछि मात्रै वास्तविकता बाहिर आउने प्रहरीले जनाएको छ ।
चार दिनदेखि हराइरहे पनि परिवारले प्रहरीलाई जानकारी नदिनु, आफैंले खोजी गर्नु तथा घरमा सामान्य विवाद भएको विषय बाहिर आएकाले घटना थप शंकास्पद बनेको प्रहरीले जनाएको छ । माइती पक्षले भने हत्या गरेर शव फालिएको हुनसक्ने आशंका गर्दै घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीलाई कारबाही गर्न माग गरेका छन् ।
प्रहरीका अनुसार सविताले घर छाड्नुअघि परिवारभित्र सामान्य भनाभन भएको थियो । पति दिलबहादुरले भने विवादपछि श्रीमती घरबाट निस्किएको र आफूहरूले खोजी गरिरहेकै बेला शव फेला परेको बयान दिएका छन् ।



