काठमाडौ, भदौ ५
नेपाल साफ अण्डर १५ च्याम्पियनशिपको सेमिफाइनलमा प्रवेश गरेको छ । एन्फा कम्प्लेक्स सातदोवाटोमा भएको पहिलो खेलमा माल्दिभ्सलाई ६ शुन्य गोलको भारी अन्तरले हराउदै नेपाल सेमिफाइनलमा प्रवेश गरेको हो । माल्दिभ्स दुवै खेलमा पराजित भएकाले नेपालले भारतसग खेल्नु अघि नै सेमिफाइनल प्रवेश गरेको हो । माल्दिभ्सलाई पहिलो खेलमा ९ शुन्य गोलको फराकिलो अन्तरले हराएको भारतपनि यो नतिजासगै सेमिफाइनल प्रवेश गरेको छ । अब नेपाल र भारतविच बुधबार हुने खेलले समुह बि को विजेता छान्ने छ ।
नेपालले माल्दिभ्सलाई शुरुवात देखिनै दबावमा राखेको थियो । पहिलो हाफमा चार गोल गरेको नेपालले दोस्रो हाफमा भने दुई गोल मात्र गर्न सफल भयो । खेलको १० औं मिनेटमा ब्रिजेश चौधरीले गोलको खाता खोलेपछि, २० औं मिनेटमा दर्शन गुरुङ्ग, ३६ औं मिनेटमा पेनाल्टीबाट रोशन रानामगर तथा ४५ औं मिनेटमा आकाश बुढामगरले चौथो गोल गरेका थिए । दोस्रो हाफको दोस्रो मिनेटमै आकाश र ७३ औं मिनेटमा बिज्रेशले व्यक्तिगत दोस्रो गोल गर्दै समग्रमा नेपाललाई ६ शुन्यको अग्रता दिलाए । खेलको ८८ औं मिनेटमा रोसन दोङ दोहोरो पहेलो कार्ड खादै बाहिरिएपछि नेपाल १० खेलाडीमा सिमित भएको थियो ।



