काठमाडौं, १६ कात्तिक । देउसीभैलो खेल्दै कलाकारको एक समूह सोमबार बाँकेको कोहलपुर आइपुग्यो । भेरी कलाकार समाज काठमाडौंको समूह देउसीभैलो खेल्न भन्दै बाँकेको कोहलपुर आइपुगेको थियो । लोकदोहोरी कलाकार टीका पुनसहितका टिम देउसीभैलो खेल्न भन्दै सुर्खेत, नेपालगञ्ज, कोहलपुरसम्म पुगेको थियो ।
भेरी कलाकार समाज मात्र होइन, थुप्रै संघसंस्थाका ब्यानरमा देशैभर देउसीभैलो खेल्ने क्रम चलिरहेको छ । कलाकार, पत्रकार, युवायुवतिको समूहदेखि राजनीतिक समूहसमेत देउसीभैलोको देशब्यापी दौडाहामा छ ।
नेत्रविक्रम चन्द विप्लव माओवादीले जनवादी देउसी भन्दै पैसा उठाइरहेको छ भने अन्य विभिन्न राजनीतिक दलका कार्यकर्ता पनि देउसीभैलो खेलिरहेका छन् । तिहारमा देउसीभैलोको महत्व अर्कै छ । हिन्दु धर्मग्रन्थअनुसार बलिराजाको कथासँग जोडिएको देउसीभैलो धर्म नमान्ने राजनीतिक दलदेखि गैरराजीतिक समूह पनि देउसीभैलो खेलिरहेका छन् । तर सबैको नियत भनेकै मनग्गे पैसा जुटाउने हो ।
देउसीभैलोलाई ५१ रुपैयाँ भन्दा बढी दक्षिणा दिन नपर्ने सरकारले नियम नै बनाएको छ । तर आफ्नो शक्ति र सामथ्र्य देखाएर ब्यापारी ब्यवसायीहरुबाट पैसा उठाउने काम भइरहेको छ । कुनै राजनीतिक दलको शक्ति देखाएर त कुनै अन्य अमुक शक्तिको आडमा लाखौं दक्षिणा दिन बाध्य बनाइएको छ । काठमाडौंबाट देउसी खेल्न भन्दै बाँकेको कोहलपुर आइपुगेको कलाकारको टोलीले एकैघरबाट एक लाख बढी दक्षिणा लिए । यो जस्तै धेरै टोलीले यसरी नै पैसा असुलीरहेका छन् ।
देउसीभैलो राती १० बजेपछि खेल्न नपाइने लगाएका विभिन्न नियम स्थानीय प्रशासनले लगाए पनि त्यसको प्रवाह छैन । साना बालबालिकादेखि ठूलो समूहको लाम देउसीभैलो खेल्ने लाइन लागेपछि घरबाटै भागे पनि पत्र पठाएर पछि भए पनि पैसा असुल्ने तयारी कतिपयको छ । देउसीभैलो धर्मसंस्कारको नाममा पैसा असुल्ने धन्दा बनेको छ ।
तिहार शुरु हुनुभन्दा दुई चार दिनअघिदेखि नै काठमाडौंका ठूला ब्यापार ब्यवसायीको उद्योग कलकारखाना र कार्यालयहरुमा देउसीभैलो खेल्न शुरु भयो । उद्योग कलकारखाना बन्द हुने भएकाले तिहारअघि नै देउसीभैलो खेल्न शुरु भएको थियो ।



